Kath khabar
उपत्यकामा थप २ जनामा हैजा

         काठमाडौं, असार २१। काठमाडौं उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा २ बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । 

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका-६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचार पछि घर फर्किएको बताउनुभयो । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि,  दिसापिसाब गरेपछि र  फोहर चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्दछ । 

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update