काठमाडौं, असार २४। आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री अथकले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताउनुभएको हो ।
कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भव्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । “यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता सञ्चालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ” मन्त्री अथकले भन्नुभयो, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”
मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताउनुभयो । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शुक्रबार मूल आयोजक समितिको पहिलो बैठक बोलाउनुभएको हो ।
बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एआरएन समेत गरी ११ टिमले सहभागिता जनाउने छन् ।
बैठकले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरू पारित गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने लगायतका निर्णयहरू रहेका छन् ।
पहिलो बैठकका मुख्य निर्णयहरू :
१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने ।
२) प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने ।
३) प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने ।
४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एआरएन गरी ११ टिम सहभागी गराउने ।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।
६) नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने । र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
७) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने ।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत ।