ललितपुर, २५ असार । नेशनल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी ‘निस्ट’ कलेज ललितपुरले आफ्नो कलेजमा शैक्षिकसत्र २०७८ मा अध्ययन गरेका गरीब तथा जेहेन्दार विद्यार्थीलाई करिव ३ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको जनाएको छ । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको सो कलेज ललितपुरमा २८ वर्षअघि स्थापना भएको हो ।
कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा विज्ञान प्रविधि, व्यवस्थापन र कानून विषय अध्यापन गर्दै आएको निस्ट कलेज ललितपुरले गत एक शैक्षिक सत्रमा मात्रै करिव तीन करोड रुपैयाँ बराबरको आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्राचार्य केशव धामीले बताउनुभयो।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित हुन नपरोस् भनेर सबै विद्यार्थीलाई शिक्षाको सरल पहुँच पुर्याउन कलेजले छात्रवृत्ति प्रदान गरेको दावी गर्दै प्राचार्य धामीले भन्नुभयो- ‘एक शैक्षिक सत्रमा यती धेरै रकम बराबरको शैक्षिक छात्रवृत्ति प्रदानगरि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने निस्ट कलेज ललितपुर नै सम्भवतः पहिलो र एक मात्र कलेज हुनुपर्छ ।’ छात्रवृत्तिकै कारणले पनि निष्ट कलेजप्रति विद्यार्थीको आकर्षण बढेको प्राचार्य धामीको दावी थियो ।
निस्ट कलेज ललितपुरले शैक्षिक सत्र २०७९ को लागि कक्षा ११ मा नयाँ विद्यार्र्थी भर्ना र छात्रवृत्तिको लागि भनेर गत शनिबार मात्रै १ हजार ४ सय ४१ विद्यार्थीको प्रवेश परिक्षा लिएको थियो । ती विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजाको पर्खाइमा छन् ।
विद्यार्थीको पढाईको क्षमता, कलेजको प्रवेश परीक्षा र एसइइ परीक्षाको नतिजा तथा उनीहरूको घरको आर्थिक अवस्था लगायतलाई मूल्यांकन गरि विद्यार्थीहरूलाई गरीब तथा जेहनदार छात्रवृत्ति प्रदान गर्ने गरेको निस्ट कलेज ललितपुरका प्रवन्ध निर्देशक सुनेत्र प्रधानाङ्गले बताउनुभयो । यसप्रकारको छात्रवृत्ति हरेक वर्ष प्रदान गरिने पनि प्रबन्ध निर्देशक प्रधानाङ्गले प्रष्ट पार्नुभयो।
केही वर्ष अघिसम्म ललितपुरको सानेपामा सञ्चालनमा रहेको निस्ट कलेज भक्तपुर लगायत उपत्यकाका विभिन्न ठाउँबाट सार्वजनिक यातायातका साधन चढेर आउने विद्यार्थीलाई सहज र सरल होस भनेर बालकुमारी-ग्वार्कोे चक्रपथमा कलेज सारेको हो ।