काठमाडौं, असार २६ । पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको बृद्धि हुनु हो, जुन साधारण उपचारले फेरी फेरी फर्कन र अरु अङ्गहरुमा पनि सर्न सक्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशय र योनीलाई जोड्ने भागमा हुनेगर्छ । पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारक तत्त्वको रुपमा हाल आएर देखापरेको छ । त्यस्तै गरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरै जनासँग शारीरिक सम्पर्कमा आउनाले यो रोग लाग्न सक्छ ।
पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ । र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्दत गर्दछ । यो प्रायः जसो धेरै बच्चा जन्माएका, सानो उमेरमा विवाह भएका महिलाहरुलाई यो रोग लाग्ने सम्भावना रहन्छ । यौन व्यवसायमा लागेका महिला अथवा परपुरुषको संसर्गमा रहेका महिलामा पनि यो रोग लाग्ने प्रबल सम्भावना हुन्छ। जाँड, रक्सी, चुरोट खैनी, बिडी, तम्बाकु, इत्यादि सेवन गर्ने तथा खानपिनमा ध्यान नदिने, कुपोषण भएका महिलाहरूलाई पनि यो रोग लाग्ने खतरा बढि हुन्छ । हर्मोन लिने महिलाहरूमा खतरा केहि बढी मात्रामा हुने सम्भावना रहन्छ ।
यो रोगका लक्षण शुरु शुरुमा साधारण भन्दा धेरै सेतो पानी (white discharge) बग्ने, पटक पटक इन्फेक्सन भई राख्ने, पानीमा रगत मिसिएको हुन सक्ने, महिनावारी नभएको समयमा पनि रगत देखा पर्ने, यस रोगको प्रमुख लक्षण हो भने महिनावारी बन्द भइसकेका महिलाहरूमा फेरी रगत देखा परेमा यो रोग लागेको शंका गर्न सकिन्छ । त्यसैले पेट फुल्ने समस्या देखिनु र धेरै फैलिएको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने, साथै दिसापिसाबमा समस्या देखा पर्न सक्छ ।
यो रोग लागे नलागेको पत्ता लगाउन हामीले समयसमयमा डाक्टरसँग जाँच गराउनु अत्यन्तै आवश्यक छ । साथै समय समयमा प्याप स्मेयर जाँच (Pap Smear Test) गराएर पनि यो रोग लाग्ने सम्भावना कति छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर क्यान्सर भएको अथवा क्यान्सर हुने सम्भावना छ कि छैन भनी पत्ता लगाउन एक विशेष किसिमको अत्यन्तै सरल जाँच हो । कुनैपनि गाइनोलोजिस्ट अथवा ट्रेनिङ प्राप्त नर्सद्धारा पनि प्याप स्मेयर टेस्ट गराउन सकिन्छ । यसको जाँच नियमित रुपमा गरेर आफूलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन सकिन्छ । यस जाँचबाट क्यान्सर अगावै आउने कोषिका परिवर्तन थाहा हुन्छ र यहि अवस्थामा उपचार गरेमा धेरै दुख तथ खर्च विना नै क्यान्सर हुनबाट जोगिन्छ ।
कुनैपनि २१ वर्ष पुगेका महिला जसको यौन सम्पर्क शुरु भैसकेको छ उनीहरुलाई यो नियमित रुपमा जाँच गराउन जरुरी छ । महिनावारी सुकिसकेका महिला तथा क्यान्सर हुने सम्भावना भएका अपरेशन गरेका जस्तै यौन पेशामा संलग्न महिलाले गर्नुपर्दछ । यौन पेशामा संलग्न महिलाले भने डाक्टरको सल्लाह बमोजिम ६ महिना देखि १ वर्षको अन्तरमा जाँच गर्नुपर्दछ ।
प्याप टेस्ट गराउन दुई दिन अघिदेखि यौन सम्पर्क गरेको हुनुहुँदैन । यो टेस्ट गर्दा मलम अथवा डुसको प्रयोग पनि नगरेको, एन्टिवायोटिक नखाएको हुनुपर्छ । यो महिनावारी भएको बेलामा पनि गर्न मिल्दैन ।
करभिक्समा भएका कोषिकाहरूमा कुनैपनि बेला शारीरिक सम्पर्क हुँदा एक प्रकारको जिवाणु जसलाई Human Papilloma virus भनिन्छ जसले संक्रमण हुन सक्छ, यसले विस्तारै कोषिकामा परिवर्तन ल्याई क्यान्सर गराउन सक्छ । तर संक्रमणपछि क्यान्सर हुन सामान्यतया ७ देखि १० वर्षसम्म लाग्ने हुँदा हामीले जाँच गरी यो बीचको कुनैपनि समयमा कोषिका परिवर्तन पत्ता लगाई उपचार गरायौ भने क्यान्सरबाट बच्न सकिन्छ ।