बेलायत, जेठ १० । इंग्लीस प्रिमियर लिगमा च्याम्पियन म्यान्चेष्टर सिटीले एभर्टनमाथि पाँच सुन्य गोलको शानदार जित हात पारेको छ । अन्तिम खेल जित हात पारेपछि सिटी १० हजार दर्शकसमामु ट्रफी समेत उचाल्यो ।
इतिहाद रंगशालामा भएको खेलमा घरेलु सिटीले पहिलो हाफको सुरुवातमै दुई गोलको अग्रता बनाएको थियो । केभिन डि बु्रयनाले ११ औँ मिनेटमा गोल गर्नुभयो । उहाँले दिएको पासमा गाब्रियल जेसुसले १४ औँ मिनेटमा अग्रतालाई दोब्बर बनाउनुभयो । दोस्रो हाफमा पनि आक्रमक खेल प्रस्तुत गरेको सिटीले तीन गोल थप्यो । ५३ औँ मिनेटमा फिल फोडेनले गोल गर्नुभयो ।
सिटीबाट लिगको अन्तिम खेल खेलेका अगुइरोले ७१ औ मिनेटमा गोल गर्नुभयो । त्यसको पाँच मिनेट पछि उहाँको व्यक्तिगत दोस्रो गोलमा सिटिले पाँच सुन्य गोलको जित सुुनिश्चित बनाएको हो । ३२ वर्षिय अर्जेन्टाइन स्ट्राइकरको यो सिजनको अन्त्यसँगै सम्झौता पनि सकिनेछ । सिटिबाट पाँच लिग उपाधी जितेका अगुइरोले बार्सिलोना जाने पक्का भइसकेको प्रशिक्षक पेप ग्वार्डिवालाले बताउनुभयो । २०११ मा आउनुभएका अगुइरोले सिटीका लागि २ सय ५९ गोल गर्नु भएको छ ।
उहाँले आफ्नो पहिलो खेलमा पनि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर दुई गोल नै गर्नुभएको थियो । सिटीले यस अघि नै भिनसेन्ट कोम्पनी र डेभिड शिल्भासँगै उहाँको पनि मृर्ती बनाउन निर्णय गरिसकेको छ । खेलपछि सिटिलाई ट्रफी हस्तान्तरण गरिएको थियो । यता लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई सुन्य गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । एस्टोन भिल्लासंग दुई एक गोलले पराजित भएपनि चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाएको छ । यता अन्तिम खेलमा टटेनहमसंग चार दुईले पराजित बनेको लेष्टर सिटी भने युरोपेली प्रतियोगितामा छनौट हुन असफल भएको छ ।