काठमाडौं, असार २९। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उहाँले बताउनुभयो । नेपालको प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहका अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरूप आफ्ना व्यवसायिक गतिविधिहरू अगाडि बढाउँदै आएको बताउनुभयो ।
\आइएमई रेमिट हामीले सुरु गरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरु गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यायवाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो ।
त्यसैगरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्नेछ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौ, उहाँले भन्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक सङ्कटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
यसका लागि तपाईँहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खेलिदिनुपर्यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्यो, उहाँले भन्नुभयो । गैर आवासीय नेपाली संघसँग आफूहरूको सहकार्य सुरु भइसकेको बताउँदै उहाँले गैर आवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ्ग जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताउनुभएको छ ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सिर्जनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो । यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गर्नुभएको छ ।
लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उहाँले धेरैभन्दाधेरै वैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरूले नै भूमिका निभाउनुपर्ने बताउनुभयो ।