कोलम्बो, असार २९ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ। श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर माल्दिभ्सको राजधानी माले पुगेका छन् भने हजारौँ प्रदर्शनकारीहरू कोलम्बो स्थित मुख्य प्रदर्शनी स्थलबाट २० मिनेट पैदल दूरीमा रहेको प्रधानमन्त्री कार्यालयतिर जान थालेका छन् ।
राष्ट्रपति गोटाबय राजपक्ष विदेश पलायन भएपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सर्वदलीय अन्तरिम सरकार गठन गरेर आफू पनि पदबाट हट्ने बताएका छन्। श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले पदत्याग गरेपछि स्वतः प्रधानमन्त्री ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्छन्। "यदि साँझ सम्म राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा आएन भने हामी फेरि भेला भएर संसद् वा अन्य सरकारी भवन कब्जा गर्छौँ," यसअघि एक प्रदर्शनकारी बुद्धि प्रबोध करुनारत्नले बताएका थिए ।
श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। बुधवार बिहान सबेरै राजपक्ष दम्पती दुई सुरक्षाकर्मीसहित श्रीलङ्कबाट माल्दिभ्स पुगेका थिए। उनकी श्रीमती पनि सँगै रहेको बताइएको छ । उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजपक्ष पनि देशबाट बाहिर गएको स्रोतहरूले बताएका छन् ।
राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले उनको निवास कब्जा गरेको केही दिनपछि गोटाबयले देश छाडेका हुन् । दक्षिण एशियामा अवस्थित अभूतपूर्व आर्थिक सङ्कटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ । पछि राष्ट्रपतिले बुधवार पदत्याग गर्ने बताएका थिए, तर अहिले सम्म उनले औपचारिक रूपमा राजीनामा दिइसकेका छैनन् । स्रोतहरूका अनुसार राजीनामापत्र तयार भइसकेको छ। तर राजपक्ष आफ्नो मूल गन्तव्यमा पुगेपछि मात्र त्यसलाई सार्वजनिक गरिनेछ। पदासीन राष्ट्र्पतिले राजीनामा नदिएसम्म नयाँ राष्ट्रपति नियुक्त गर्न मिल्दैन। अर्थात् राजनीतिक गाँठो फुकाउन राजपक्षले राजीनामा दिनैपर्छ।
श्रीलङ्कामा महिनौँ देखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको छ ।
(बीबीसीबाट साभार)