श्रीलङ्का, असार ३०। श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्ने वित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भए सँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जन स्थल, उद्यान लगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमा सिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसदबाट जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् । कार्यवाहक राष्ट्रपति बनेपछि विक्रमसिङ्घले गरेको पहिलो काम देशमा सङ्कटकाल घोषणा गर्नु थियो। तर अहिले उनी आफूलाई नयाँ भूमिकामा स्थापित गर्ने प्रयासमा देखिएका छन्।
बुधवार टेलिभिजन मार्फत् सम्बोधन गर्दै उनले प्रदर्शनकारीहरूलाई "फाँसीवादी"को सङ्ज्ञा दिए। उनी कार्यवाहक राष्ट्रपति नियुक्त भएको विरोधमा हजारौँ मानिसहरूले राजधानीस्थित उनको कार्यालयमा धावा बोलेका थिए। उनले सेना र प्रहरी प्रमुखहरूको नेतृत्वमा गठित एउटा नयाँ समितिलाई सुव्यवस्था पुनर्स्थापना गर्न "आवश्यक काम गर्न" निर्देशन दिएका छन् । अहिले श्रीलङ्कालीहरू यति आन्दोलित छन् कि विक्रमसिङ्घले गर्न खोजेको कामका लागि कस्तो उपाय आवश्यक हुन्छ अनि त्यो काम गर्न उनी उपयुक्त पात्र हुन् कि हैनन् भन्ने स्पष्ट छैन।
गत शनिवार हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी निवासमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए। राजपक्ष परिवारसँगको निकटताका कारण अहिले उनी निकै अलोकप्रिय मानिन्छन्। तर पहिलाको अवस्था भिन्न थियो। विक्रमसिङ्घले पार्टीका भ्रष्ट सदस्यहरूलाई हटाउने उद्देश्यले अनुशासन आयोग गठन गरेका थिए। त्यसबाट उनको पार्टीको छवि सुधार भएको थियो।
आफूलाई आकर्षक देखाउन उनले विभिन्न शैलीमा कपाल काट्ने गरेका थिए। उनले गाउँगाउँमा पुगेर आफ्नो दलप्रतिको जनसमर्थनलाई फराकिलो बनाउने प्रयास गरे। सामान्य परिस्थितिमा राष्ट्रपति निर्वाचित हुनको लागि उनी सशक्त दाबेदार मानिन्थे, तर समयसँगै उनको लोकप्रियता कम हुँदै गयो। सन् २०१९ को ईस्टर सन्डेमा घातक बम विस्फोट हुँदा उनी प्रधानमन्त्री थिए। उक्त घटनामा कम्तीमा २५० जनाको ज्यान गएको थियो।
त्यो आक्रमण हुनुअघि गुप्तचर निकायले दिएका चेतावनी बारे आफूलाई थाहा नभएको र सूचना पाउने अधिकारीको सूचीमा आफूलाई समावेश नगरिएको उनले बताएका थिए। कुनै समय देशमा शासन गर्ने उनको दल गत संसदीय निर्वाचनमा एउटा स्थानमा मात्र सीमित भयो। उनको पार्टीबाट उनी मात्र निर्वाचित भए। त्यसैले विपक्षीहरूले उनी कुनै कार्यकारी पदका लागि योग्य भएको दाबी गरेका हुन्।
धेरै मानिसले सन् २०१५ मा राजपक्ष परिवारले शक्ति गुमाउँदा विक्रमसिङ्घले सहयोग गरेको ठानेका छन्। विक्रमसिङ्घ विगत २ दशकमा बारम्बार प्रधानमन्त्री बनेका वरिष्ठ नेता हुन्। तर उनी कहिल्यै पनि पूरै अवधि पदमा बस्न पाएका छैनन्। गत मे महिनामा छैटौँ पटक प्रधानमन्त्री नियुक्त हुनुअघि उनी संसद्मा विपक्षमा थिए। महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले विक्रमसिङ्घलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको नियुक्ति राष्ट्रपति गोटाबय राजपक्षले आफू सत्तामा टिक्ने अन्तिम प्रसासस्वरूप गरेको देखिएको छ। राजपक्ष अन्ततः देश छोड्न बाध्य भए।
विक्रमसिङ्घ वकिल पनि हुन्। उनी राजनीतिक र व्यावसायिक पृष्ठभूमि भएको धनी परिवारका सदस्य हुन्। उनी सन् १९७७ मा पहिलो पटक संसद्मा निर्वाचित भएका थिए। सन् १९८९ मा रणसिङ्घ प्रेमदास राष्ट्रपति निर्वाचित भएपछि दलभित्रको राजनीतिमा उनको उन्नति भयो। उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए। सन् १९९४ मा सन्दिग्ध तमिल विद्रोहीहरूले गामिनी दिशानायकको हत्या गरेपछि विक्रमसिङ्घ यूनाइटेड न्याश्नल पार्टी (यूएनपी) को नेता बने। इप्पावाला सहरमा आयोजित एउटा सभामा भाषण गर्दै गर्दा उनको हत्या गर्ने उद्देश्यले बम विस्फोट गरिएको थियो। तर उनी जोगिए।