Kath khabar
डोका र नाङ्लोबाट मनग्ये आम्दानी

              मान्मा (कालीकोट), असार ३०। नरहरिनाथ गाउँपालिका-४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु. २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिी-वितरण गर्दै आउनु भएको छ । उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेख सम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो ।  

“जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु ।  नाङ्लो मात्र रु. ५०० देखि ६०० सम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।” भारी बोक्न मिल्ने डोका रु. १ हजार २०० देखि १ हजार ५०० सम्म घाँस दाउरा गर्ने डोका रु. ८०० देखि ९०० मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।”

स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीय स्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।” स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ  ।
 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update