काठमाडौं, जेठ १० । मुलुकको निर्यात व्यापार पहिलो पटक एक खर्ब माथि पुगेको छ । सो सँगै सरकारको एक दशक अघिको निर्यात व्यापार लक्ष्य हाल आएर पुरा भएको छ । २०६४ मा सरकारले ल्याएको तीन वर्षीय अन्तरिम योजनाले निर्यात मूल्य १ खर्ब रुपैयाँ पुराउने लक्ष्य लिएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (२०७७/७८) को १० महिनाको अवधिमा निर्यात व्यापार १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिको तुलनामा निर्यातमा ३२.१९ प्रतिशतले वृद्धि हुदाँ निर्यात एक खर्ब रुपैयाँ भन्दा माथि हुन गएको हो । गत आर्थिक वर्ष (२०७६/७७) को सोहि अवधिमा भने निर्यात व्यापार ८२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
निर्यातजन्य प्रमुख वस्तुहरुमा सोयाबिन ओयल, तयारी पोशाक, पस्मिना, हस्तकलाका सामाग्री, फुटवेयर, गलैचाँ, चिया लगायतका उत्पादनहरु रहेका छन् । नेपालमा उत्पादित यी सामग्रीहरु भारत हुदै एसिया, युरोप तथा अमेरिकी बजारहरुमा पुग्ने गर्छन् । यस्तै पछिल्लो १० महिनाको अवधिमा सबै भन्दा बढी सायोबिन ओयल निर्यात भएको छ । विभागका अनुसार १० महिनाको अवधिमा ३५ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ सायोबिन ओयल, अर्ब ९७ करोड ९४ लाखको अलैंची, करिब ४ अर्बको धागो (तयारी पोशाक), ३ अर्ब १६ करोडको चिया निर्यात भएको छ ।
यस्तै गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयातमा भने २२.३४ प्रतिशतले वृद्धि हुदाँ १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको पाईन्छ । गत आवमा भने १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको आयात भएको थियो ।
यस्तै सोहि अवधिमा मुलुकको व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा २१.४८ बढेको पाउछौं । चालु आर्थिक वर्षमा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ व्यापार घाटा मुलुकले व्यहोर्नु परेको छ । यस्तै गत आर्थिक वर्षको सोहि अवधिमा भने मुलुकको व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । १० महिनाको अवधिमा कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको तुलनामा २३.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ कुल वैदेशिक व्यापार रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा भने ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
यसैबीच विभागले अबको दुई महिनामा निर्यात वृद्धि हुने भन्दै करिब २० अर्बले निर्यात बढ्न सक्ने आंकलन गरेको छ । यस्तै नेपालको करिब १ सय ५० भन्दा बढी मुलुकसँग व्यापार रहेको छ ।