काठमाडौं, जेठ १० । चालु आर्थिक बर्षको समाप्ती मिति नजिकिंदै गर्दा नेपाल राष्ट्र बैंकलाई आन्तरिक ऋण उठाउन भ्याई नभ्याई भएको छ । चालु आर्थिक बर्ष भित्रमा अर्थात यही असार मसान्तसम्ममा सरकारको लागि राष्ट्र बैंकले कुल दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाई सक्नुपर्नेछ । जस अन्तर्गत पहिलो चौमासमा ५७ अर्ब र दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाईसकेको राष्ट्र बैंकले तेस्रो चौमासमा एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाईसक्नु पर्नेछ ।
सोही लक्ष्य प्राप्तीको लागि राष्ट्र बैंको भोलि मंगलबार अर्थात जेठ ११ गते एकैपटक १५ अर्ब रुपैयाँँ बराबरको बिकास ऋणपत्र र दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । यस अन्तर्गत भोलि राष्ट्र बैंकले पाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८३ “घ” बिक्री गर्ने छ । बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म बोलपत्र पेस गर्नुपर्ने छ । निष्काशन मिती २०७८ जेठ १३ गते तोकिएको ऋणपत्रको साँवा भुक्तानी अवधि २०८३ जेठ १३ रहेको छ । धितो राखेर कर्जा लिन र दिन समेत पाईने उक्त ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्याइएको छ । खरीद गर्न पाउने सीमा निम्नतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुने छ ।
यसैगरी राष्ट्र बैंकले भोलि मंगलबार नै बार्षिक नौ प्रतिशत व्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ (पाँच बर्षे) बिक्री कार्य शुरु गर्ने भएको छ । बचतपत्रको खरिद गरिसक्नु पर्ने अवधि यही असार एक गतेसम्म तोकिएको छ । निष्काशन मिती असार छ गते तोकिएको बचतपत्रको साँवा भुक्तानी मिती २०८३ असार छ गते रहेको र आर्जित व्याजमा व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी अर्धबार्षिकरुपमा हुनेछ ।
बचतपत्र खरिद गर्नको लागि योग्यता पुगेका सबै नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । खरिद सिमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सिमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा सिमा तोकिएको यो बचतपत्र धितो राखेर राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।