Kath khabar
साउन महिनामा किन गरिन्छ भगवान शिवको जलाभिषेक ?



           काठमाडौं, साउन १ । आजबाट साउन महिना सुरु भएको छ । यो महिना भगवान शिवलाई अति प्रिय लाग्छ। विशेषगरी यो महिनामा भगवान शिवको जलाभिषेक गरिन्छ । श्रावण महिनामा देशभरका शिव मन्दिरहरूमा महादेवको पूजाआराधना गर्न भक्तजन आउने गर्छन् ।

शिव पुराणको पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा सबैभन्दा पहिले त्यसबाट विष निस्कियो । त्यस विषको कारणले सारा संसारमा संकट आयो किनभने यो सबै देवता, मानव, पशुपक्षी आदिको जीवनका लागि हानिकारक थियो । अब त्यो संकटको समाधान के हो भनेर सबैजना चिन्तित भए । त्यसपछि देवताहरूका देवता महादेवले सम्पूर्ण सृष्टिलाई यस संकटबाट बचाउने निर्णय गरेर त्यो विष पुरै पिउन थाल्नु भयो, त्यही समयमा माता पार्वतीले त्यो विष भगवान शिवको गलामा रोकिदिइन् । जसका कारण शिवको घाँटीमा विष रह्यो र शरीरमा फैलिएन । विषका कारण शिवको घाँटी नीलो भएकोले शिवलाई नीलकण्ठ पनि भनिन्छ । भगवान शिवलाई विषको प्रभावबाट बच्न सबै देवताहरूले शिवको जलाभिषेक गरे । यसबाट शिवजी धेरै प्रसन्न हुनुभयो। यो घटना साउन महिनाको हो । यसकारण हरेक वर्ष साउन महिनामा भगवान शिवको जलाभिषेक गरिन्छ, जसले गर्दा उहाँ प्रसन्न भई उहाँको आशीर्वाद प्राप्त हुने विश्वास छ ।

माता पार्वतीले भगवान शिवलाई आफ्नो पतिको रूपमा प्राप्त गर्न साउन महिनाभर कठोर तपस्या गर्नुभएको थियो । तपस्याबाट प्रसन्न भएर भगवान शिवले पार्वतीको मनोकामना पूरा गर्नुभयो । शिव र पार्वतीको मिलन साउन महिनामा भएको थियो । त्यसैले भगवान शिवलाई साउन महिना अति प्रिय लाग्छ ।

भनिन्छ विवाहपछि भगवान शिव पहिलो पटक आफ्नो ससुरा घर जादा पनि साउन महिना थियो । त्यहाँ उहाँको स्वागत गरेर जलाभिषेक गरिएको थियो, जसले भगवान शिवलाई धेरै खुशी बनायो । त्यसैले पनि शिव भगवानलाई साउन महिना प्रिय लाग्छ । शिव पुराणका अनुसार साउनमा भगवान शिव र माता पार्वती पृथ्वीमा बास गर्छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update