Kath khabar
अब हुने राष्ट्रपति निर्वाचन प्रति विपक्षी नेता सजिथ प्रेमदासा चिन्तित

            कोलम्बो, साउन १ । श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनाव प्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् । अहिलेको संसद्मा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन् । 

राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले गोटाबाया राजपाक्षको विधान सभामा बहुमत रहेको २ सय २५ सांसदले करिब २ करोड २० लाख श्रीलङ्कालीको भाग्यको फैसला गर्ने अहिलेको वास्तविकता सुनाए ।

देशको आर्थिक सङ्कटबारे चर्चा गर्दै उनले त्यसबाट राष्ट्रलाई उकास्ने योजना आफूसँग रहेको बताए । अतिधनीलाई करमा सहुलियत दिने आर्थिक कदम नचाल्न विगत ३ वर्ष देखि आफूले सरकारलाई जानकारी गराउँदै आएको तर त्यसलाई कहिल्यै कसैले नसुनेकाले अहिलेको विषम परिस्थिति उत्पन्न भएको उनले जनाए । विपक्षी नेता प्रेमदासले पूरै व्यवस्थालाई सच्च्याउन नयाँ निर्वाचन आवश्यक भएकामा जोड दिए । 

प्रेमदासले भारत सरकारको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, उनको सरकार र भारतका जनताले आफ्नो देशका जनताका आधारभूत मानवीय आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा अतुलनीय सहयोगको गरेकामा आभार व्यक्त गरे ।  यसअघि विपक्षी नेता प्रेमदासाले राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।

राष्ट्रपति राजापाक्षले पदबाट राजीनामा दिएकाले संविधान बमोजिम आगामी बुधबार संसद्ले नयाँ राष्ट्रपति चयन गर्दैछ । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि नयाँ राष्ट्रपतिको निर्वाचन निर्धारित समयमा हुने बताएका छन् । खाद्यान्न र इन्धन अभावका कारण टापुराष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update