नयाँ दिल्ली, साउन १ । भारत भ्रमणमा रहनु भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा २ पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरुबीच भेटवार्ता भएको जानकारी दिनुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो ।
यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहनुभएको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत-नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको थियो ।