Kath Khabar
हनी ट्रयापिङमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ


               काठमाडौं, साउन ३ । हनी ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरू सिन्धुली कमलामाई नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका-६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरूमा आपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई डर धम्की तथा त्रास देखाई मोलमोलाइ गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने, भेटघाट पश्चात झूटा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने, दबाबमूलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी निरीक्षक खडा गरी मोलमोलाइ गरी मानसिक हैरानी दिने र पीडित व्यक्तिका आफन्तलाई समाजिक सञ्जाल मार्फत साथी बनाई प्रहरीकोमा निवेदन दिएको छु भनी नक्कली प्रहरी निरीक्षकसँग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update