गत असारमा हातहतियार सहित ललितपुरबाट पक्राउ परेका व्यक्तिको सम्बन्धमा खुल्यो थप तथ्य

काठमाडौं, साउन ३। गत असार ३ गते ललितपुरका एक व्यक्तिको स्कुटरको डिकीबाट दुई राउन्ड गोली सहितको पेस्तोल बरामद भएको थियो । उक्त व्यक्ति ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं. ८ लुभु वस्ने वर्ष ५४ को श्यामकृष्ण श्रेष्ठ भएको र उनको प्रदेश ३-०२-०१२ प ६२४१ नं. को स्कुटरको डिकीबाट दुई राउन्ड गोली सहितको पेस्तोल बरामद भएकोले निजलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको थियो।
उक्त घटना सम्बन्धमा निम्नानुसारका थप तथ्यहरू खुल्न आएकोले अन्य दुई जना पक्राउ गरी हातहतियार तथा खरखजाना आपराधिक षड्यन्त्र मुद्दामा सम्मानित अदालतबाट हिरासतमा राख्ने अनुमति लिई सो मुद्दामा गहन अनुसन्धान भइरहेको छ।
अनुसन्धानबाट खुल्न आएका तथ्यहरु:-
- अभियुक्त अनिल श्रेष्ठ सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को वर्तमान अध्यक्ष, अख्खनदास श्रेष्ठ निवर्तमान उपाध्यक्ष र श्यामकृष्ण श्रेष्ठ सोही संस्थाको व्यवस्थापक रहेको ।
- अभियुक्त अनिल श्रेष्ठले सर्लाही जिल्ला घर भई हाल लुभू, ललितपुरमा नै बस्ने शिवजी महतोको श्रीमती सरस्वती खत्रीलाई भगाई दोस्रो विवाह गरेकोले अनिल श्रेष्ठ र सरस्वतीलाई यस जिल्ला प्रहरी परिसर ललितपुरबाट मिति २०७८।१२।१७ गते बहु विवाह मुद्धा दर्तागरी अनुसन्धान तथा कारवाही भएकोमा श्यामकृष्ण श्रेष्ठ र शिवजी महतो मिल्ने साथी भएकोले श्यामकृष्ण श्रेष्ठले अनिल श्रेष्ठको विरुद्धमा अदालतमा समेत साक्षी बकपत्र गरेको हुँदा अनिलले श्यामकृष्णलाई भित्री रुपमा दुश्मनी लिएको पाइएको ।
- अनिल श्रेष्ठले सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफ्नो र परिवारको नाममा गरी रु २,९५,००,०००/- (दुई करोड पन्चान्नब्बे लाख ) कर्जा निकालेकोमा सो को ब्याज तथा साँवा रकम समेत नतिरी कर्जा अनियमित भएकोले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले अनिललाई पटक पटक कर्जा रकम तिर्नु भनेकोले श्यामकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठ बीच सो कारणबाट मनमुटाव रहेको ।
- श्यामकृष्ण श्रेष्ठ पक्राउ परेको मिति २०७९/०३/१३ गते भन्दा पहिले पनि मिति २०७९/०२/२५ गते समेत अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली छ भनि सूचना दिएको र सो दिन उक्त सूचनाको आधारमा कन्ट्रोल मार्फत सो स्कुटरलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएकोमा उक्त नं. को स्कुटर ललितपुर प्रहरी टोलीले फेला नपरेको ।
- मिति २०७९/०२/२५ गते अनिल श्रेष्ठ सो सहकारीमा जानुपर्ने कुनै कारण नदेखिए पनि श्यामकृष्ण श्रेष्ठ पक्राउ नपरेकोले आफै सहकारी कार्यलयको पार्किङ एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट उक्त हतियार निकालेको १५:३८ वजेको समयमा सोही सहकारीमा जडित सिसि टिभीमा कैद फुटेजबाट अनिलले गरेको हर्कत देखिएको ।
- मिति २०७९/०३/१३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश३-०२-०१२प ६२४१ नं. को स्कुटर चढी लगनखेल स्थित मालपोत कार्यालयमा जान भनी हिडे पश्चात अनिल श्रेष्ठले कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार छ भनी सूचना दिएको र आफैले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेशन जानाकारी गराई लगातार अपराध (अबैध हतियार )को सूचना दिएको ।
- श्यामकृष्ण श्रेष्ठले चढ्ने प्रदेश ३-०२-०१२प ६२४१ नं. को स्कुटर सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को सम्पत्ति भएको र बिगत १ वर्ष देखी श्यामकृष्णले चढ्दै आएको भएतापनि उक्त स्कुटरको अर्को साँचो पुर्व उपाध्यक्ष अख्खन दास श्रेष्ठ संग भएकोमा अख्खनले करिब २५ दिन अगाडि साचो अनिल श्रेष्ठलाई दिइ सकेको बताएको हुँदा अनिल श्रेष्ठसंग सो स्कुटरको दोस्रो साँचो भएकोले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको ।
- अनुसन्धानको क्रममा माथिका बिभिन्न तथ्यहरू खुल्न आएको हुँदा पुर्ब रिसिवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफुलाई परेको असर समेतको कारण श्याम कृष्ण श्रेष्ठलाई फसाउनअभियुक्त अनिल श्रेष्ठले आपराधिक षडयन्त्र गरेको देखिन आएकोले निम्नानुसारको अभियुक्तहरु पक्राउ गरी श्याम कृष्ण श्रेष्ठलाई हाजिर जमानीमा छाडी थप अनुसन्धान भइरहेको ।
पक्राउ अभियुक्तहरुको विवरण:-
- काजीलाल श्रेष्ठको छोरा ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.८, लुभु स्थायी वतन भएका वर्ष ४३ को अनिल श्रेष्ठ ।
- देवलाल श्रेष्ठको छोरा ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.८, लुभु स्थायी वतन भएका वर्ष ५० को अख्खनदास श्रेष्ठ ।
हाजिर जमानिमा छाडिएको
- जीतलाल श्रेष्ठको नाति जेठा श्रेष्ठ र हीरामाया श्रेष्ठको छोरा जिल्ला ललितपुर साविक लुभु गा.वि.स.वडा नं. ७ को परिवर्तित महालक्ष्मी न.पा.वडा नं. ८ लुभु वस्ने बर्ष ५४ को श्यामकृष्ण श्रेष्ठ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय