जेरुसेलम, साउन ८। पश्चिमी किनारको अधिनस्थ शहर नाब्लसमा इजरायली सेनाले गरेको कारबाहीमा २ प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य ६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । इजरायली सेनाले उक्त कारबाही र प्यालेस्टिनी पक्षले उल्लेख गरेको हताहतिका बारेमा कुनै टिप्पणी नगरी नाब्लसमा सशस्त्र संदिग्ध र सुरक्षा फौजबीच गोली हानाहान भएको बताएको छ ।
पश्चिमी किनारमा गतमार्चको अन्त्य देखि गरिएको कारबाहीमा कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकू, गैर-लडाकूका साथै अल जजीराका पत्रकार शिरीन अबु अक्लेह समेत छन् । इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको छ । पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले पश्चिम किनारमा दैनिक जसो सैन्य कारबाही गरिरहेको छ ।