त्रिपोली, साउन ८। बिहीबार राति त्रिपोलीका विभिन्न भागमा २ प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय मिशन (युएनएसएमआइएल)ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ । सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन् ।
दर्जनौं मानिसहरू त्रिपोली विश्वविद्यालयको क्याम्पस र नजिकैको मेडिकल सेन्टरमा शरण लिन बाध्य भएका थिए। जसमा ११ वर्षका १ बालक सहित १६ जना सर्वसाधारणको मृत्यु भएको छ र ५२ जना घाइते भएका छन् ।