भक्तपुर, साउन ८ । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोङ्गागणेश जंगलको सुकेको सल्लाको रूख अचानक ढलेर बा.२ ख ३५८४ नम्बरको बस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो किच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्यो रहेका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र नेपाली सेना समेतबाट खटिएको टोलीले १५ जना घाइतेहरूको उद्धार गरी उपचारको लागि ७ जनालाई भक्तपुर ईन्टरनेशनल अस्पताल र ८ जनालाई डा.ईवामुरा अस्पताल लगेकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । १२ जना घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।