काबुल, साउन ९। अफगानिस्तानमा व्यापक समस्याका रूपमा रहेको लागूऔषध दुर्व्यसनलाई दर्शाउने कारुणिक तस्वीरहरू सार्वजनिक भएका छन् । वर्षौं देखि द्वन्द्वको स्थिति रहेको र तालिबान पुनः सत्तामा आएको अवस्थामा लागूऔषध दुर्व्यसन विकराल रूपमा विद्यमान छ । राजधानी काबुल नजिकको डाँडामा कैयौं मानिस हेरोइन, गाँजा र मेथ (मेथामफेतामिन) नामक लागूऔषध सेवन गरेर बसेको देखिन्छ ।
गरीबी तथा दशकौं सम्म चलेको युद्धका कारण लाखौं अफगानीहरू लागूऔषध दुर्व्यसनमा फसेका छन् । गत वर्ष तालिबानले शासन हात पारेपछि देशको अर्थतन्त्र पूर्णतया धराशायी भएको छ । त्यसमाथि अफगानिस्तानले पाइरहेको अन्तर्राष्ट्रिय आर्थिक सहयोग पनि रोकिएको छ । खान लाउन पुग्नेहरू समेतको जीवनमा असर परेको छ । धेरैजनालाई हातमुख जोर्नकै लागि पनि धौधौ पर्न थालेको छ ।
एक हुल कुकुरहरू पनि लागूऔषध चाख्नका लागि भौंतारिएको तस्वीर समेत भेटिन्छ । फोहरको डंगुरमा कुकुर र मानिसहरू सँगै बसिरहेको देख्न सकिन्छ । अफगानिस्तान संसारको सबभन्दा ठूलो अफिम तथा हेरोइन उत्पादक राष्ट्र हो । अहिले मेथ नामक खतरनाक लागूऔषधको प्रमुख स्रोत पनि अफगानिस्तान नै हो । परिणामस्वरूप मानिसहरू लागूऔषध दुर्व्यसनतर्फ आकर्षित भइरहेका छन् । राजधानी काबुलमा दुर्व्यसनीहरू पार्क र फोहरको नालीमा, पुलमुनि र डाँडातिर भेटिन थालेका छन् ।