काठमाडौं, साउन १०। काठमाडौँको टोखाबाट बैकिङ् कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३, बाफल बस्ने ४२ बर्षिया फरार प्रतिवादी निशा गुरुङलाई मंगलबार पक्राउ गरिएको हो ।
गुरुङले कुमारी बैंकको दरबारमार्ग शाखा कार्यालय, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा फैसला गर्दै प्रतिवादी निशा गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा पाँँच दिन कैद र २३ लाख १४ हजार दुई ५० रुपैयाँ जरिवाना हुने ठहर गरेको सिआईबीको भनाई छ ।
सो पश्चात फरार रहेकी गुरुङलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज मंगलबार काठमाडौंको टोखा न.पा. वडा नं. ६, टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।