Kath khabar
यो वर्षको एसईईमा जीपीए ३.६ देखि ४ ल्याउने परीक्षार्थीको सङ्ख्या ९६३३

 

           काठमाडौं, साउन ११ गते । राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गर्नुभएको हो ।

सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी १.९४ प्रतिशत रहेको बताउनुभयो । उच्च श्रेणी ३.६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १.९४ प्रतिशत छन् ।

त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, ६९ हजार नौ सयले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २.४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १.६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १.२ देखि १.६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो ।

सदस्य सचिव अर्यालले यस वर्ष १.९४ प्रतिशतले ३.६ देखि ४ जिपिए, ८.४० प्रतिशतले ३.२ देखि ३.६ जिपिए, १४.१० प्रतिशतले २.८ देखि ३.२ जीपीए, १८.३१ प्रतिशतले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।

त्यस्तै २२.७४ प्रतिशतले २ देखि २.४ जीपीए, २०.२९ प्रतिशतले १.६ देखि २ जीपीए, ८.९९ प्रतिशतले १.२ देखि १.६ जीपीए र ०.६६ प्रतिशतले ०.१ देखि १.२ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४.५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७.४ प्रतिशत, मधेस प्रदेशमा १५.५ प्रतिशत, वाग्मती प्रदेशमा २१.६७ प्रतिशत, गण्डकी प्रदेशमा ९.३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७.४५ प्रतिशत, कर्णाली प्रदेशमा ७.५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै SMS र IVR बाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट,SMS र IVR बाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

यसरी हेर्नुहोस् नतिजा

 

 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update