Kath khabar
विश्व हेपाटाइटिस विरुद्धको दिवस र यसको महत्व

             काठमाडौं, साउन १२ । आज जुलाई २८ अर्थात् विश्व हेपाटाइटिस दिवस । नेपालमा पनि हरेक वर्ष विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ।

नोबेल पुरस्कार विजेता वैज्ञानिक डा.बारुच ब्लमबर्गको जन्मदिनको अवसरमा जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ। उनले हेपाटाइटिस बी भाइरस (एचबीभी) पत्ता लगाएका थिए र हेप-बी भाइरसको उपचारको लागि डायग्नोस्टिक टेस्ट र भ्याक्सिन विकास गरेका थिए । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर नै गम्भीर बन्दै गएको यो रोगलाई निर्मुल पार्ने लक्ष्य राखेको छ ।

यो रोगका कारण धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । विश्वमा हरेक ३० सेकेन्डमा एक व्यक्तिको हेपाटाइटिसको जोखिम र परीक्षण र उपचारको अभावका कारण मृत्यु हुने गरेको छ ।

धेरै प्रकारका हेपाटाइटिस मध्ये हेपाटाइटिस बी धेरै खतरनाक हुन्छ। यसको कारणले कलेजोमा समस्या आउछ । यो रोग लाग्दा सबैभन्दा पहिले कलेजो सुनिन्छ र सुनिएको कारण कोशिकाहरू क्षतिग्रस्त हुन्छन् । बिस्तारै यसले शरीरका सबै अंगमा असर गर्न थाल्छ र समयमै परीक्षण नहुँदा वा उपचार नपाएपछि मानिसको ज्यान समेत जाने गर्छ ।

कतिपय मानिसहरु चेतनाको अभावमा हेपाटाइटिस रोगबाट ग्रसित हुने गरेका छन् । विश्वभर यसका लाखौ बिरामीहरु छन् । यस्तो अवस्थामा यसबाट बच्ने उपायहरु जनतामाझ फैलाउनु र उपचारका लागि परीक्षणको जानकारी दिन जनतालाई सचेत गराउनु यो दिवसको उद्धेश्य हो । यसो गर्दा विश्वभरि लाखौंको ज्यान बचाउन सकिन्छ।

हेपाटाइटिसबाट बच्न समय समयमा हेपाटाइटिस जाँच गराउनुपर्छ र खोप लगाउनुपर्छ । हेपाटाइटिस अरुले प्रयोग गरेको सिरिन्ज पुनः प्रयोग गर्दा, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको दाँत माझ्ने ब्रस अथवा रेजर प्रयोग गर्दा, सङ्क्रमित व्यक्तिले दिएको रगत चढाउँदा, असुरक्षित तरिकाले ट्याटु खोप्दा र असुरक्षित यौन सम्पर्क गर्दा सर्न सक्छ । सङ्क्रमित आमाबाट जन्मेको बच्चामा पनि यो रोग सर्न सक्छ । डाक्टरको सल्लाह बिना दुखाइ कम गर्ने औषधि सेवन गर्दा पनि यो रोगको जोखिम बढ्दछ । कतिपय औषधिले कलेजोमा समस्या निम्त्याउँछ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update