
काठमाडौं, साउन १२। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरू फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्र.व.उ.भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौं ।”
थप प्रष्ट पार्दै प्रवक्ता प्र.व.उ. भट्टले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।
मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।