काठमाडौं, जेठ ११ । गत शनिबार रियल मड्रिड र बार्सीलोनाको एकाधिकार तोड्दै एट्लेटिको मड्रिडले स्पेनिस लिग लालिगाको ट्रफी उचाल्यो । एट्लेटिकोले लाक लिगा जित्दा लुइज स्वारेज नायक सावित हुनुभयो । स्वारेज उनै खेलाडी हुनुहुन्छ जसलाई बार्साले अवमुल्यन गर्दै क्लवबाट अघिल्लो सिजनको अन्त्यसँगै निकालेको थियो । बार्साले आफुसँग भएको बहुमुल्य हिरा चिन्न सकेन र त्यसको मुल्य चुकाउनु पर्यो ।
पि सिजनमा रोनाल्ड कोमन प्रशिक्षकको जिम्मेवारी सम्हाल्न क्याम्प नोउ पुग्नु भयो । टिममा हेरफेर गर्ने भन्दै कोमनले खेलाडी कटौती गर्न थाल्नुभयो । यो कठोर कदमको सिकार स्वारेज बन्नुभएको थियो । बार्साले उहाँलाई अब खेल्नका लागि धेरै बुढा हुनुभयो, अन्य कुनै विकल्प खोज भन्यो । जबकि उहाँ बार्साका तेस्रो सर्वाधिक गोलकर्ता हुनुहुन्थ्यो ।
उहाँले ६ सिजनमा बार्साका लागि दुई सय ८३ खेलमा १ सय ९८ गोल गर्नुभको थियो । उहाँको उत्कृष्ट प्रदर्शनमा ला लिगामा, चार च्याम्पियन्स लिगमा एकसहित दश उपाधि जितेको बार्साले भुलेर क्लब छाड्न बाध्य बनायो । उहाँलाई अभ्यासमा समेत बोलाइएन । अन्ततः बार्सामा बस्न मन हुँदाहुँदै पनि उहाँले क्लब छाड्नु पर्यो ।
बार्साले स्वारेजलाई जम्मा ६ मिलियन डलरमा बेचेको हो । बिदाइ कार्यक्रममा उहाँले आँशु लु्काउन सक्नु भएन । मिडियाका सामु धेरै बेर रुँदै उहाँ बिदा हुनुभएको थियो । त्यो बार्साले दिएको धोकाको आँशु थियो । शनिबार ला लिगाको अन्तिम खेलमा उहाँ रुनुभयो । त्यो आँशु भने विश्वास र खुशीको आँशु थियो । किनभने स्वारेजकै निणार्यक गोलहरुमा एट्लेटिकोले जित हात पारेको थियो ।
स्वारेज नै नायक
बार्सीलोनाबाट स्वारेजको नराम्रो बहिर्गमन भएको थियो । जसलाई एट्लेटिकोले सुन्दर अवसरको रुपमा लियो । सायद प्रशिक्षक डिएगो सिमोयानीको क्लब एट्लेटिकोमा स्वारेजकै कमी थियो । बार्साले अवमुल्यन गर्दै निकालीएका स्वारेज आखिर हिरा सावित हुनुभयो । उहाँको आगमनपछि एट्लेटिकोले सिजनमा उत्कृष्ट सुरुवात गर्यो ।
१९ औं चरणको खेल सकिंदा क्लबले कीर्तिमानी ५० अंक बटुल्यो । ला लिगामा रियल मड्रिड र बार्साकै वर्चश्व हुनेगर्छ । सिजनको एक समय ती दुबै क्लबलाई दोहोरो अंकले पछि पार्दै एट्लेटिकोले शानदार आफुलाई शीर्ष स्थानमा राख्यो । मध्यतिर एट्लेटिकोको प्रदर्शन केही खस्किएपछि रियाल र बार्साले उपाधि दौडमा चुनौती पेश गरे तर एट्लेटिको लयमा फर्कियो । नोउ क्याम्पमा गोलरहित बराबरीमा रोकेर एट्लेटिकोले बार्सालाई अंक तालिकामा अगाडि बढ्न दिएन ।
रियलले लिगको अन्तिम चरणसम्मै एट्लेटिकोलाई पछाइरह्यो । लिगको अन्तिम दुई खेल सेमीफाइनल र फाइनल सरह रहेका थिए । जसमा निर्णायक भुमिकामा देखिनुभयो स्वारेज । ओसासुनाविरुद्ध एट्लेटिको ८१ औं मिनेटसम्म एक शुन्यले पछि थियो । ८२ औं मिनेटमा रेनन लोडीले बराबरी फर्काउनु भयो । ८८ औं मिनेटमा स्वारेजले गरेको गोलमा एट्लेटिकोले तीन अंक जोड्यो । अन्तिम खेल झनै रोमान्चक बन्यो । एट्लेटिकाविरुद्ध भल्लाडोलिडले १८ औं मिनेटमा अग्रता लिएको थियो । ५७ औं मिनेटमा एंजल कोयराले बराबरी गोल फर्काउनु भयो । त्यसको १० मिनेटपछि स्वारेजले गोल थप्नुभयो र त्यही गोलसँगै एट्लेटिको सन् २०१४ पछि पहिलो पटक ला लिगा च्याम्पियन भयो ।
अनि यो खुशीको आँशु
निर्धारित समय सकिएपछि स्वारेजले आफ्नो परिवारलाई फोन गर्दै धेरैबेर रुनुभयो । सायद सबैभन्दा धेरै उहाँले आफुलाई विश्वास गर्नुभयो र बार्सासँगको इखले उहाँलाई सफलता सम्म डोहोरायो । स्वारेजलाई विश्वास गरेर अघि ल्याउने पर्दा पछाडिका हिरो सिमोयानी हुनुहुन्छ । जसले हिराको उच्च मुल्य लगाउनुका साथै नतिजा पनि निकाल्नु भयो । त्यसैले त स्वारेजले बार्साले आफ्नो अवमूल्यन गर्दा ढोका खोलिदिएर विश्वास गरेकोमा एट्लटिकोलाई धन्यवाद दिनुभयो ।
जितपछि स्वारेजले मिडियामा के भन्नुभयो त?
लुइज स्वारेज
“मलाई बार्साले अवमुल्यन गर्दै निकालेको थियो, त्यतिबेला मेरो लागि सबैभन्दा कठिन समय थियो । मैले आफुलाई सम्हाल्न सकेको थिइन । तर, प्रशिक्षक डियगो सिमोयानीले मलाई विश्वास गर्नुभयो । एट्लेटिकोले मलाई नेतृत्वको भुमिका दियो । मेरो परिवारले मलाई त्यो समयमा साथ दिए । मैले धेरै वर्ष फुटबल खेलेको छु । जसमध्ये स्मरिणीय सिजन मेरा लागि यो पनि हो । मलाई लाग्छ एट्लेटिको ठुलो क्लब हो । अब हामी आफ्नो लयलाई कायमै राख्छौं र बढिभन्दा बढि ट्रफी जित्ने प्रयास गर्छौ र म एकदमै खुशी छु । ”
प्रशिक्षक, डियगो सिमोयानी
“स्वारेजको गोल हान्ने शैली मलाई धेरै मनपर्छ । खेल हातबाट छुटिसकेको बेला गोल गर्ने उहाँको कला चमत्कार नै हो ।”
उहाँका पुर्व टिम मेट्स तथा मिल्ने साथी लियोनल मेस्सी इन्स्टाग्राममा लेख्नुहुन्छः ‘स्वारेज राम्रा खेलाडी हुन् भन्ने कुरामा शंकै छैन । उहाँले ला लिगा जित्नु मेरो लागि नौलो कुरा होइन । उहाँमाथि सँधै विश्वास छ ।’
(यो लेख एपीको सहयोगमा लेखिएको हो । )