काठमाडौं, साउन १२ । स्कुटर चोरी गर्ने एक जनालाई स्कुटरसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।
हराएका मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं.२६ दरबारमार्ग ज्याठा सडक खण्डबाट बागमती प्रदेश–०२–०३७ प ९४१० नम्बरको ग्रे रङको स्कुटर चलाई रहेको अवस्थामा जिल्ला पर्वत कुस्मा नगरपालिका वडा नं.०९ हातेमालो चोक घर भई काठमाडौँ माछापोखरी बस्ने वर्ष २२ को निरज थापालाई स्कुटर सहित नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
उक्त पक्राउ भएको स्कुटर जिल्ला तनहुँ भीरकोट गाउँपालिका वडां नं. ०३ घर भई हाल काठमाडौँ थानकोट बस्ने विजय थापाले काठमाडौँ माछापोखरी बाट हराएको भनी यस कार्यालयमा निवेदन दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त स्कुटरलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी वृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाइरहेको छ ।