Kath khabar
३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल एक कार्यालय सहयोगी



                गोदावरी, साउन १३ । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल हुनुभएको छ ।

कैलारी गाउँपालिका-६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गर्नुभएको हो । उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण हुनुभएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिनुभयो । चौधरी विसं २०५२ बाट कैलारी-६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ ।

यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको बताउँदै उहाँले भन्नुभयो, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु ।” कैलारी-६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताउनुभयो ।

कोरोना महामारीका क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताउनुभयो ।
 

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update