Kath khabar
सार्वजनिक खरिद नियमावलीको बाह्रौ संशोधन सकारात्मक : निर्माण व्यवसायी



              काठमाडौं, साउन १४ । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौ संशोधन सकारात्मक भएको बताएका छन् । एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे ।

प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौ संशोधन आएसँग सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेशालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ’ अध्यक्ष सिंहले भन्नुभयो ।

समृद्धिका सारथी निर्माण व्यवसायीहरू विना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनले बताए । महासंघका मानार्थ सदस्य समेत रहनु भएका संघीय सांसद जिप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए ।

महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । त्यस्ता विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाख भन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने तर्क गरे ।

निर्माण व्यवसाय प्रबर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायीहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीहरूका समस्या बारे चर्चा गरेका थिए ।

यसैबीच महासंघको विधान बमोजिम एसोसिएट उपाध्यक्ष स्वत एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधान अनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरेको छ । सचिवद्धयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भए । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर  बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् ।

सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । भेलामा महासंघको कार्य समितिमा एशोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।


 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update