Kath khabar
आज साउनको तेस्रो सोमबार गणेशजीको साथमा शिवको आराधना गर्नुहोस्

            काठमाडौं, साउन १६ । आज साउन महिनाको शुक्ल पक्षको चतुर्थी तिथी भएकाले यस दिन भगवान शिवसँग पुत्र गणेशजीको पूजा गर्नु राम्रो मानिन्छ । आज साउनको शुक्ल चतुर्थी भएकाले  विनायक चतुर्थी व्रत राख्नु उपयुक्त हुन्छ । आज साउन सोमबार र विनायक चतुर्थी व्रतको संयोग रवियोग बनेको छ । आज व्रत राखी दुवै व्रतको पुण्य लाभ प्राप्त गर्न सकिन्छ ।

साउन महिनाको प्रत्येक दिन शिवको पूजाआजाका लागि शुभ मानिन्छ । साउन सोमबारको व्रत बसेर शिवको आराधनासँगै विनायक चतुर्थी व्रत बस्दा गणेशको आशीर्वाद प्राप्त हुन्छ, जीवनमा सुख र समृद्धि आउँछ ।

सोमबार व्रत पूजा विधि
साउन सोमबार व्रत बस्दा बिहान नुहाएर सेतो वा हरियो कपडा लगाउनु राम्रो हुन्छ किनभने यी दुवै रङ शिवको प्रिय हुन् । शिव मन्दिर वा घरमा नै शिवलिंगको पूजा गर्दा सर्वप्रथम शिवलाई जलाभिषेक गर्नुपर्दछ । जलाभिषेक गर्दा पानीमा गंगाजल मिसाएको राम्रो हुन्छ। त्यसपछि शिवलिंगलाई दूधले अभिषेक गरेर चन्दनले पूजा गर्नुपर्दछ । त्यसपछि शिवलाई सेतो फूल, धूप, भाङ, धतुरो, बेलको पात, फलफूल, मह आदि चढाउनुपर्छ ।

पूजा गर्दा ॐ नमः शिवाय जप गर्नुपर्दछ । त्यसपछि शिव चालिसाको पाठ गर्नु र साउन सोमवार व्रतको कथा पढ्नु राम्रो हुन्छ । व्रत कथा पढेपछि कर्पूरगौरम मन्त्रको साथ शिवको आरती गर्नुपर्दछ।

 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update