याङ्गुन, साउन १६। म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु ६ महिना थपिएको जानकारी दिएको हो ।
सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु ६ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधान अनुसार यहाँ संकटकालीन अवस्था बढीमा २ वर्ष सम्म घोषणा गर्न मिल्दछ ।
यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा १ वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ ।