Kath khabar
ललितपुरको महालक्ष्मी नगरपालिका साथै दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए

            ललितपुर, साउन १६।  ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण  रोगका बिरामी भेटिएका हुन् ।  महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर-घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौ ।” हाल सम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उहाँले जानकारी दिनुभयो । 

उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसी देखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारी साधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा. विष्टको भनाइ थियो । सङ्क्रमित भएका स्थानमा सर सफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सर सफाइकर्मी लागिपरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update