पर्सा, साउन १८ । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७-७८को तुलनामा गत आवमा सो नाकाबाट १ सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।
आव २०७७-७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु. ८६ अर्ब ३ करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा रु. १ खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएकोे छ ।
सो समीक्षा अवधिको तुलनामा रु. ९१ अर्ब ८५ करोड ४१ लाख बढी मूल्याको १७ लाख २ हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात २ हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयात समेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।
उहाँले आर्थिक वर्ष २०७७-७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको २ लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा रु. १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको २ लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताउनुभयो । सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ ।
वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा रु. ४६ अर्ब १४ करोड ४० लाख राजस्व सङ्कलन गरेको तुलनामा गत आवमा ४४ अर्ब २ करोड २८ लाख बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको बताउनुभयो ।
वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।