काठमाडौं, साउन २०। तारकेश्वरमा कुकुरलाई निर्ममतापूर्वक मारेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दायर भएको छ । पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले हिजो बिहीबार महानगरिय प्रहरी वृत्त बालाजुमा दिएको जाहेरी लिन नमानेपछि आज सोही टोली जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल गएर जाहेरी दर्ता गराएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुह्येश्वरी कि जुना बरामले धारिलो हँसियाले हानेर निर्ममतापूर्वक कुकुरलाई मारेको भन्दै विभिन्न पशु अधिकारकर्मीहरुले जुना बरामलाई कारबाहीको माग गर्दै हिजो बुधबार बालाजुको प्रहरी वृत्तमा प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा ईरफान खान, सृजना ठकुरी तथा ईरिका शर्मा लगायतका पशु अधिकारकर्मीहरुलाई प्रहरीद्धारा हातपात र दुर्व्यवहार भएको प्रदर्शनकारीहरुले बताएका छन्।
"अवस्था हेरेर प्रहरीले हामीलाई सुरक्षा र सहयोग गर्छ भन्ने सोचेका थियौं तर घटना उल्टो भयो । कुकुर मार्ने महिलालाई चौबिस घण्टा थुनामा राखेर छोडिएको छ । यसपछि, हामी धेरै निराश भयौं । प्रहरीले भन्यो, यो प्रकारको सामान्य केसको लागि समय छैन, यो मात्र कुकुर हो । हामीलाई पक्राउ गरियो, हाम्रा कार्यकर्तालाई प्रहरी चौकीभित्र कुटपिट र दुर्व्यवहार गरियो । पुलिस विभागले गरेको यो लाजमर्दो कार्यलाई हामी क्षमा गर्ने छैनौ ।" पशु अधिकारकर्मी तथा टिम संकल्पका संस्थापक इरफान खानले बताउनुभयो ।
नेपालको कानुनमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था रहेको छ । सो संहिताको दफा २९० मा पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने बुँदामा, कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन, उल्लेख गरिएको छ ।
गत बुधबार बरालले आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् । कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना बाहिर आएको थियो ।