काठमाडौं, जेठ १२ । महिलालाई उद्यममा आकर्षण गर्न सरकारले सहुलियत दरमा ब्याज उपलब्ध गराएसँगै महिला उद्यमीको संख्या ठूलो मात्रामा बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेसम्ममा ४५ हजार १ सय २८ जनाले यस्तो कर्जा लिएका छन् । गत वर्षको चैत मसान्तसम्म भने ६ हजार ६ सय ८२ जनाले यस्तो कर्जा लिएका थिए । अर्थात एक वर्षमै महिला उद्यमी ३८ हजार भन्दा बढिले थपिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म यस्तो कर्जा ४२ अर्ब १५ करोड गएको छ ।
सहुलियतपुर्ण ब्याज अनुदान सम्वन्धि कार्यविधी अनुसार अन्य योजनामा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ । तर, महिला उद्यमी कर्जामा भने सरकारले ५ प्रतिशत अनुदान दिन्छ । जसका कारण पुरुषले गर्ने व्यवसाय पनि महिलाका नामबाट हुन थालेको बैंकका कर्मचारीहरु बताउँछन् ।
सञ्चालनमा रहेका कम्पनी मध्ये एक तिहाईमा पनि महिला मालिक छैनन् । जबकी संख्यात्मक रुपमा हेर्ने हो भने नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढि छ । दर्ता भएका ९ लाख २३ हजार ३ सय ५६ वटा कम्पनी मध्ये २ लाख ४७ हजार ८ सय ८० वटा महिलाले सञ्चालन गरेका छन् । जुन २८ प्रतिशत हाराहारी मात्रै हो ।
अहिले भने महिला उद्यमीको व्यवसायमा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिने भएपछि महिला उद्यमी ह्वात्तै बढेको देखिएको हो ।आधार दरमा दुई प्रतिशतभन्दा बढि ब्याज लिन नपाइने सरकारले व्यवस्था गरेको छ । अहिले बैंकहरुको औसत आधार दर ६ दशमलव नौ एक भएकाले यस्तो कर्जा ९ प्रतिशत भन्दा माथि नहुने देखिन्छ । यसमा छ प्रतिशत सरकारले अनुदान दिने भएकाले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ ।
यो आयोजनाको जोखिम हटाउन सरकारले नै आयोजनाको बीमा समेत गरिदिन्छ । बीमामा ऋणीले ७५ प्रतिशत रकम तिरेपुग्छ अन्य रकम सरकारले तिरिदन्छ तर सरकारले दुई वर्ष अघि प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा बजेटमा व्यवस्था गरेपनि यो भने खास प्रभावकारी हुन सकेको छैन । प्रतिब्यक्ति सात लाख सम्म पाइने यस्तो कर्जा अहिलेसम्म जम्मा १ सय ३९ जनाले मात्रै प्राप्त गरेका छन् ।
उच्च शिक्षा प्राप्त गरेका युवाहरु कामको खोजिमा बिदेश जान नपरोस् बरु उनिहरुले स्वदेशमै उद्यम गरुन् भनेर सरकारले दुई वर्ष अघि प्रमाणपत्र राखेकै भरमा ऋण पाइने व्यवस्था गर्याे तर, के कस्तो व्यवसाय गर्ने भनेर उचित योजना बिद्यार्थिले प्रवाह गर्न नसक्दा यो कर्जा खासै प्रभावकारी भएको छैन ।
राष्ट्र बैंकका अनुसार यो वर्षको चैतमसान्तसम्म यस्तो कर्जा जम्मा ६ करोड ५ लाख मात्रै गएका छन् । जम्मा १ सय ३९ जना यस्तो कर्जाबाट लाभान्वीत भएका छन् ।