काठमाडौं, साउन २२ । धर्मशास्त्रमा व्याख्या भएअनुसार मान्छेको मनमा उब्जेका कुरालाई भवन तथा मठमन्दिर बनाई कलात्मक रूप दिनु त्यसलाई हामी विज्ञान भन्दछौं ।
प्राचीन समयमा त्यसलाई शिल्प भनिन्थ्यो । त्यस शिल्पका नियमहरूलाई शिल्पशास्त्र नामाकरण गरियो । शिल्पशास्त्रको एउटा भाग वास्तुशास्त्र हो । देवदेवीको मन्दिर र मानवद्वारा निर्मित घरलाई वास्तु भनियो । यो पञ्चतत्व मिलेर बनेको हुन्छ । पञ्चतत्वका सहयोगी स्वरूप जमिन, जमिनमा बनिने संरचना, जमिनमा राखिने वस्तु र घरमा मान्छेलाई चाहिने चीजहरू हुन् ।
१. जमिन : जुन ठाउँमा देवताको मन्दिर र मान्छेलाई वासको लागि घर बनाइन्छ, त्यो जमिन हो ।
२. संरचना : जमिनमा बनिने मन्दिर, घर, टहरा, पर्खाल, ठूलो भवन ती सबै संरचना हुन् ।
३. जमिनमा राखिने वस्तु : रथ, विमान, गाडी र नौका आदि सबै जमिनमा बस्ने वस्तु हुन ।
४. मान्छेलाई चाहिने चीजहरू : मान्छेको लागि आवश्यक खाट, कुर्सी, टेबल, दराज, सोफा आदि मान्छेलाई चाहिने चीजहरू हुन् ।
माथि लेखिएका चीजहरू जमिन विना रहन सक्दैन । त्यसकारण जमिनलाई वास्तु भनिन्छ । त्यस जमिनमा रहने सबै चीज मिलाएर मानवलाई दैनिक चाहिने अति आवश्यक वस्तुलाई “वास्तु” भनिन्छ । वास्तु सम्बन्धित नियम र मापदण्डहरूलाई वास्तुशास्त्र भनी नामाकरण गरिएको छ ।
वास्तुशिल्प दुई किसिमको मानिन्छ -
१. देवशिल्प : धर्मका सबै कार्यहरू मठ-मन्दिरसँग सम्बन्धित सबै कुराहरू मूर्ति, यज्ञ, यज्ञकुण्ड आदिसँग सम्बन्धित छन् ।
२. मानवशिल्प : मानवद्वारा निर्मित घर अरु आवासीय भवनहरू, धर्मशाला पाठशाला, विद्यालय, होटल कार्यस्थलहरू आदिसँग सम्बन्धित छन् ।