
काठमाडौं, साउन २३ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिभलको अन्तिम दिन आज भएको अवार्ड समारोहमा ‘को-हजबेन्डलाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो ।
अवार्ड ग्रहण गर्दे निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताउनुभयो । ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार, यसपालि ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए ।
यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । निर्देशक पाण्डेका अनुसार, ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेन्डले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । यसैगरी, नेपालमै आयोजित नेपाल-अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो । विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को-हजबेन्डले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इनटरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको हो । संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको छ ।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
Trailer: https://youtu.be/r1e0nIOJOBo