Kath khabar
माछा उत्पादनबाट मनग्य आम्दानी

                विराटनगर, साउन २३ ।  सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका-१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको छ ।

अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनु भएको छ । मेहेनती अधिकारी ५ वर्ष देखि यो पेशामा आबद्ध हुनुहुन्छ । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उहाँको भनाइ  छ । उहाँले गएको वर्ष रु. ४० लाखको माछा बिक्री गर्नुभएको थियो । अभियान मुखी बहुउद्देश्यीय कृषि फार्मबाट उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गर्नुभएको छ । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु. ५६ सम्म बिक्री भइरहेको बताइएको छ । 

पानीमा तैरने र नतैरने २ किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीय स्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गर्नुभएको छ । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस  माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । ७ जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले रु. ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिनुभयो । प्राप्त अनुदानबाट रु. ७५ लाखमा १ ठूलो गोदाम घर निर्माण भएको छ ।

रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ । माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसीन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गर्नुभयो । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनुपर्ने बताउनुभयो ।

प्रदेशमा हाल सम्ममा १० हजार ७ सय ७५ पोखरीअन्तर्गत १ हजार ९ सय ६२.३६ हेक्टर जलाशय क्षेत्रबाट कूल ९ हजार ८ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७-७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा ९ हजार १ सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

ट्राउट माछातर्फ आव २०७७-७८ मा सङ्ख्या १ सय ८१ बाट गएको वर्षमा ३ सय ६२ पुगेको छ । जलाशय क्षेत्र ३ हजार ६ सय ११ हेक्टरबाट ६ हजार ८ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भन्नुुभयो, “अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।”

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update