Kath khabar
तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ- महानगर प्रमुख बालेन्द्र साह

 

            काठमाडौं, साउन २४ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि गएराति तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराधीहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनैपर्ने बताउनुभएको छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति हुनुपर्छ भन्दै उहाँ अगाडि भन्नुहुन्छ-

"फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ । कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ ।

तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।"

बञ्चरेडाँडामा सोमबार राती फोहोर बोकेर गएका १४ टिपर लगायत दुई डोजर र एक स्काभेटरमा अज्ञात समुहले तोडफोड गरेको थियो । तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको छ भने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update