दाङ, साउन २४ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृह जिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा मन्त्री अथकले रङ्गशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरिने बताउनुभयो । लमही क्रिकेट रङ्गशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिनुभएको थियो । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिनुभएको छ ।
आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरिएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रङ्गशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिएपनि प्याराफिट लगायतकाका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।