Kath khabar
के तपाई वा तपाईहरुको कुनै आफन्त बिदेशमा हुनुहुन्छ ?

काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले बिदेशमा रहेका नेपाली नागरिकहरुलाई लक्षित गरेर बचतपत्र जारी गर्ने भएको छ । अहिले पनि ठुलो संख्यामा नेपालीहरु बिदेशमा रहेको र ति नेपालीले पठाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च हुुने क्रम बढ्दै गएको छ । यो क्रमलाई केहीहदसम्म भएपनि रोकेर बचतको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित उच्च प्रतिफल सहितको बैदैशिक रोजगार बचतपत्र २०८३ (पाँच बर्षे) को बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी बिक्री गरिने बचतपत्रको कुल रकम ५० करोड रुपैयाँ रहेको छ । पाँच बर्षमा परिपक्व हुने यो बचतपत्रको बिक्री यही जेठ १३ गते बिहिबारबाट खुल्ला भई आगामी असार आठ गतेसम्म कायम रहने छ । बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार आठ गते तोकिएको छ । बार्षिक १० प्रतिशत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी प्रत्येक छ/छ महिनामा हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने सिमा तोकिएको छ । यसैगरी यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने व्यवस्था रहेको छ । बचतपत्र खरिदको लागि भने सिटिजन्स बैंक, इन्टरनेशनल लिमिटेड, प्रभु बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सनराईज बैंक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, सिटी एक्सप्रेस मनी ट्रान्सफर र आईएमई लिमिटेडमा आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।  

 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update