काठमाडौं, साउन २८।
"आफ्नो पनि धेरै सपनाहरु थिए । परिवारले पनि विदेश जाउ भन्नुभएको थियो । तर मैले जनावरहरुको लागि केही गर्छु भनेर विदेश नजाने निधो गरे । सबै कुराहरूलाई त्यागेर नेपालमै बसेको छु । र म भविष्यमा पनि स्वदेशमा नै बस्छु । मेरो उद्देश्य भनेको नै पशु कल्याणको क्षेत्रमा क्रान्ति लिएर आउनु हो । त्यसैले म नेपालमै बसेको छु ।"
यो भनाई हो, पशु अधिकार र संरक्षणको लागि क्रियाशील व्यक्तित्व इरफान खानको । आफू आर्टिस्ट भएपनि उहाँले निसाहाय, निःशब्द र अवोध पशुहरूको लागि काम गरिरहनु भएको छ । मानिसहरू त बोल्न सक्छन्, सुन्न सक्छन्, भन्न सक्छन्, तर यि अबोध पशुहरूको आवाज, पीडा, त्यो दर्द कसले सुन्ने ? कसले बुझ्ने कसले यि अवोध पशुहरुलाई संरक्षण गर्ने ? सहयोग गर्ने ? यि यस्तै प्रश्नहरुले मेरो मन सँधै पिरोलिई रहन्थ्यो, यही पिरको उपज हो, पहिलाको पाइला र अहिलेको संकल्प, खान भन्नु हुन्छ । उहाँको भनाईहरु आफ्नै शब्दमा जस्ताको तस्तै -
पेशाले म ह्युमन पोट्रियट आर्टिस्ट हुँ । म मान्छेको चित्रहरु बनाउँछु । म अर्डर आए अनुसार मानिसको चित्रहरु कोर्ने गर्छु । जनावरको उद्धार गर्ने मेरो प्यासन हो । मलाई जनावरहरूको माया लाग्छ, त्यसैले सबै ठाँउको जनावरहरुले राहत पाओस् भन्ने हिसाबले हामीले यो टिम बनाएका हौं ।
अब हाम्रो टिमले जनावरको लागि मात्रै नभएर मानवको लागि पनि सहयोग गर्ने भएको छ । अब बिस्तारै हामी मानवको लागि सहयोग हुने प्रोजेक्टहरु पनि लिएर आउने छौं । तर अहिले हामी जनावरमा नै केन्द्रित छौ । किनकी मान्छेलाई हेर्ने धेरै संस्थाहरु छन् । तर जनावरको पिडालार्ई सुन्ने र बुझ्ने कोही छैनन् ।
हामीले यो काम सुरु गरेको तीन वर्ष भयो । तीनवर्ष अघि देखि नै हामीले यो टिमको सुरुवात गरेका थियौ । त्यति बेला हामीले एडप्सन र फिडिङ मात्रै हेर्थ्यौ। हामीलाई उपचारहरू केही पनि गर्न आउँदैथ्यो । तर पछि हामीले धेरै कुराहरूको सामना गर्नुपर्यो । बाटोमा धेरै जनावरहरुले घाउचोट लागेर पीडा भोगेको देख्यौ । त्यही भएर हामीले पनि केही गर्नुपर्छ भन्ने हिसाबले हामीले हाम्रो टिमबाट उपचारको सेवाहरु पनि दिन थाल्यौ ।
हामीले सक्रिय रुपमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सर्भिस दिइरहेका छौं । त्यो बाहेक भ्यालीबाहिरबाट पनि धेरै केसहरु आउने गरेका छन् । कतिपयहरुलाई हामीले काठमाडौं मै ल्याइदिनुस् हामी यही उपचार गरिदिन्छौ भनेका छौ तर यो सबैलाई सम्भव नहुने भएकोले प्राइभेट भेटलाई बोलाएर उपचार गर्नुस्, पेमेन्ट हामी गरिदिन्छौ भनेर धेरै ठाउँहरूमा सहयोग गरेका छौ । हाम्रो टिमको नाम 'संकल्प' हो । पहिले पाइला थियो, पछि हाम्रो भिजन अलि ठूलो भयो त्यसैले पाइला भन्ने नामलाई परिवर्तन गरेर टिमको नाम 'संकल्प' राख्यौं ।
चोटपटक लागेका जनावरहरुको खर्च कसैकसैले डोनेट गर्नुहुन्छ । हामी सधै डोनेसनको मात्रै भर परेर बस्न पनि मिल्दैन । किनभने यो सँधै आइरहदैन । आएको डोनेसन कुनै न कुनै दिन सकिन्छ । म मेरो पेशाबाट आएको पैसा जति सबै पशु कल्याणको लागि खर्च गर्छु । मैले एउटा चित्र बनाए भने २–३ वटा जनावरको उपचार गर्न भ्याउछु । सँधै डोनेसन आउदैन त्यसैले मैले आफ्नै पैसा हाल्छु अनि मेरो टिमको साथीहरुले पनि मद्धत गर्नुहुन्छ । र यो काम भविष्यसम्म नै जारी रहन्छ । मैले आफ्नो घरमा पनि १८ वटा कुुकुरहरु पालेको छुु । तीनवटा बिरालो पनि छ । यि सबै उद्धार गरिएकाहरु नै हुन् ।
म प्रत्येक नगर टोलका पहुँचवाला व्यक्तिहरुलाई यति नै भन्न चाहन्छु कि जनावरको पनि बाच्ने अधिकार हुन्छ । त्यसैले जनावर मार्छु नभन्नुस् । विचरा निर्दोष जनावरहरु जसलाई बोल्न पनि आउदैन उनीहरुले भुक्यो भन्दैमा मारिहाल्न त भएन नि । किनकी मार्नु भनेको कन्ट्रोल गर्नु होइन । पाप गर्नु हो । प्रत्येक वडामा बजेटहरु छुट्याएको हुन्छ जनावरहरूको मद्धतको लागि । यदि आफू बस्ने टोलमा कुकुरहरुको संख्या बढ्दैछ भने कुनै संस्थामा एप्रोच राखेर, मान्छे बोलाएर बन्ध्याकरण गर्न सकिन्छ । त्यो भनेको जनावरहरुको लागि पनि त एउटा कल्याणको कुरा हो ।