Kath khabar
भवन निर्माणमा वास्तुपुरुष मण्डलको महत्व
वास्तुपुरुष मण्डलको सही अवस्था


        काठमाडौं, साउन २९ । वास्तुको भनेको वरिपरि चारैतिरको प्राकृतिक अवस्थाको पदार्थ वा प्रकृति हो । प्रकृतिलाई संस्कृत भाषामा “वास्तु” भनिन्छ । पुरूषको अर्थ कार्यशक्ति, ऊर्जा, आत्मा वा बल हो । संस्कृत भाषामा यसलाई शक्ति भनिन्छ । त्यस्तै मण्डल भनेको ज्योतिषशास्त्रमा ग्रह, नक्षत्र स्थिति दिशा निर्धारणसँग सम्बन्धित हुन्छन् ।

वास्तुपुरूष मण्डल चित्रमा हेर्दा एउटा अचम्मको स्वरूप देखिन्छ । जसको उत्पत्ति अनौठो किसिमको छ । भनिन्छ कि प्राचीन समयमा पृथ्वीमा देवताहरू आ-आफ्नो शक्ति, प्रभाव बढाउन (तछाड मछाड) गर्नमा तल्लिन थिए । देवताहरूले पनि नियम, शर्त, मापदण्डहरू उल्लंघन गर्दै गएको अवस्थामा एक्कासि पृथ्वी र आकाश ढाक्ने विशाल शरीर भएको अपरिचित मानव स्वरूप व्यक्तिको उत्पत्ति भयो । त्यो भयङ्कर स्वरूप र रूप देखेर देवताहरूमा अति डर र त्रास फैलियो । सबै देवताहरूको सल्लाह अनुसार त्यस अपरिचित व्यक्तिलाई समातेर घोप्टोमुख पारी यस पृथ्वीमा समाहित गरेको प्राचीन धर्मशास्त्र, देवशास्त्रमा उल्लेख छ । त्यही देवमय स्वरूपलाई ब्रह्माजीले वास्तुपुरुषको संज्ञा दिनुभएको छ ।

वास्तुपुरुष यस पृथ्वीको प्रकृतिको साथमा रही हाम्रो सम्बन्ध उल्लेखनीय व्याख्या गरेका छन् भन्ने कुराको महसुस गर्न सकिन्छ । वास्तुपुरुष मण्डलमा विशेष गरी ती सबै कुरा निहित छ । जुन परमात्माले उद्घाटित गरेका छन् वास्तुपुरुष मण्डलको चित्रको अध्ययन गर्न अति जरूरी छ । वास्तुपुरुष मण्डल चित्रमा जस्तै भवनहरूको अगाडिको भाग पूर्वतर्फ हुनु दिशा निर्धारणका सिद्धान्तहरूबाट वास्तुपुरुष मण्डलको घनिष्ट सम्बन्ध छ । वास्तवमा घर,भवन वास्तु पुरुष मण्डलको आधारमा हुनुपर्दछ । जुन वैदिक भवनको आध्यात्मिक परियोजना हो ।

पृथ्वीको  सतहको सिमा ब्रहमाण्ड विज्ञानमा सूर्य उदाउने र सूर्य अस्ताउने साथै पूर्व र पश्चिम तथा उत्तर र दक्षिण बिन्दुहरूबाट अङ्कित भएको मानिन्छ । जसको प्रतिकात्मक रूपमा एउटा वर्गको मण्डलद्धारा प्रस्तुत गरिन्छ । वास्तुपुरुष र मण्डल दुबै समान रूपबाट महत्वपूर्ण हुन्छन् । वास्तुपुरुष मण्डल एउटा वर्गमा हुन्छ । जुन यसको मौलिक रूप हो । यसले आफ्नो प्रतिकात्मकता तथा महत्व पृथ्वी एवम् ग्रहसँग सम्वन्धित वर्ग मण्डलबाट लिन्छन् ।

ग्रह नक्षत्रको विज्ञानको एक भागको संख्या २८ र ग्रहलाई प्रभावित गर्ने स्वामीहरूको संख्या ४ वटा गरी जम्मा ३२ वटा संख्या हुन्छन् । वास्तुमण्डका सिमाहरूभित्र स्थिति वर्गहरूमा निवास गर्ने देवताहरूको संख्या पनि ३२ नै छन् । ३२ वटा देवताहरूको अवस्था फरक फरकको हुन्छन् र फरक फरक किसिमको फलदिने हुन्छन् ।

वास्तुपुरुष मण्डलसँग युक्त वास्तुरूपको मूर्ति पुरुषको आकारसँग मिल्दोजुल्दो खिचिन्छ । वास्तुपुरुषको टाउँको उत्तर-पूर्व दिशा वा ईशान कोणबाट सुरु हुन्छ । उसको खुट्टा दक्षिण-पश्चिममा, दाँया हात उत्तर-पश्चिममा, वायाँ हात दक्षिण-पूर्वमा र शरीरका अन्य अँगहरू अन्य वर्गहरूमा छन् । चित्रमा दिएको देवताहरूको विस्तारमा भिन्नता हुन्छ । व्रहमाण्डको देवता ब्रह्मा सधैं केन्द्र वर्गका देवता हुन्छन् । भवन निर्माण स्थलको प्रमुख देवता वास्तुपरुष हुन्छन् । उत्तर दिशा धनको देवता कुबेरको स्वरूप मानिन्छ भने दक्षिण दिशा मृत्यु देवता यमको र भवनको बीच भागमा आँगन हुन्छ ।

माथि उल्लेख गरिएका कुराहरू सावधानिकपूर्वक पालना गर्नाले भवनमा पञ्चतत्वको सामाञ्जस्या साथै हावाको सञ्चालन राम्रो हुन्छ । सूर्यको दिशामा त्यसको उचित स्थिति रहन्छ । घर वा भवनको तुलना मानवको शरीरसँग तुलना गरिन्छ र मध्यवर्ती आँगनको ब्रह्मासँग, उसको आत्मा र ग्रहप्रवेश समारोहमा वास्तुपूजा र धार्मिक कृत्यहरूद्धारा जाग्रित गरिन्छ । आध्यात्मिक पृष्ठभूमिमा वास्तुपुरुष मण्डलको मापदण्ड अनुसार नियमबमोजिम वास्तुपुरुष र मण्डललाई साथमा राख्दा निस्कने समाधान निश्चित रूपमा सम्बन्धित व्यक्ति र स्थान अनुकूल हुन्छ ।

- डा./ई. दुर्गा बहादुर श्रेष्ठ

(नोटः वास्तुशास्त्र अनुसार भवन निर्माण अन्तर्गतका विभिन्न भागहरु आगामी आइतबार यही स्तम्भमा प्रकाशन गर्नेछौं । )


 

 

 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update