काठमाडौं, साउन ३१ । नेपालमा १८ महिने सह-प्राविधिक र ३० महिने प्राविधिकहरूले गर्ने काम र ५ वर्ष स्नातक गरेर डाक्टर भएकाले गर्ने कामको कुनै भिन्नता छैन जटिल भन्दा जटिल शल्यक्रियादेखि क्यान्सरका औषधि चलाउन प्राविधिकहरू पछि पर्दैनन् ।
बिभिन्न देशहरूमा प्राविधिकलाई निर्धारित कार्यक्षेत्र दिइएको हुन्छ, उनीहरूलाई शल्यक्रिया गर्ने, आफूखुसी औषधि दिने, क्यान्सरका औषधि चलाउने जस्ता धेरै कुराको अनुमति हुदैन तर नेपालमा त्यस्तो स्थिति छैन । १८ महिना सह-प्राबिधिक र ३० महिने प्राविधिकहरूलाई भेटेरिनरी नर्स पनि भन्ने गरिन्छ तर काम चाँहि डाक्टर सरह नै गर्ने गर्दछन् । मेडिकल क्षेत्र हेर्ने हो भने भेटेरिनरी क्षेत्र निकै पिछडिएको देखिन्छ नर्सको कार्यक्षेत्र नर्सिङ काउन्सिलले तोकेको हुन्छ र नर्सिङ लाइसेन्स पास गरेर मात्र काम गर्ने अनुमति हुन्छ ।
चिकित्सा क्षेत्रमा नर्सहरूले के काम गर्न सक्छन् ?
भेटेरिनरी ३ वर्षे प्राविधिक जस्तै ३ वर्षे डिप्लोमा पास गरेर नर्सिङ पेशामा आबद्ध हुन पाइन्छ । उनीहरूको कार्यक्षेत्र भित्र शारीरिक स्वास्थ्य परीक्षण गर्ने, बिरामीहरूलाई परामर्श, स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्ने, प्रयोगशालाका लागि रगत, पिसाब, अन्य तरल पदार्थ संकलन गर्ने, घाउको ड्रेसिङ तथा ब्यान्डेज गर्ने, डाक्टरले लेखेको औषधि बिरामीहरूलाई समयमा प्रदान गर्ने आदि पर्दछन् ।
नर्सले शल्यक्रिया गर्न पाउदैनन् तर अनुभवी स्नातक स्टाफ नर्सहरू शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्छन्, एनेस्थेसिया दिने, रक्तस्राव नियन्त्रण गर्न मद्दत गर्ने, जटिलताको संकेत हेर्ने, टाँका लगाउने, ब्यान्डेज लगाउने, शल्यक्रियाको समयमा आवश्यक पर्ने कुनै पनि तरिकामा सहयोग गर्ने गर्दछन् तर डिप्लोमा ३ वर्षे नर्स (पि.सि.एल) ले शल्यक्रियामा हिस्सा लिन पाउँदैनन् । स्नातक गरेका नर्सहरुले पनि औषधि लेखन, शल्यक्रिया गर्न, क्यान्सरको औषधि चलाउने जस्ता कामहरु पाउँदैनन्
सरकारद्वारा पशु चिकित्सा प्राविधिकहरूको नियमन गर्न निकाय छैन
नेपालमा प्राविधिक काउन्सिल छैन, प्राविधिकको कामलाई नियमन गर्ने कुनै पनि निकाय छैन जसले जे गर्दा पनि भएको छ, कतिपय प्राविधिक आफूलाई डाक्टरसम्म भन्छन् र डाक्टरी गर्दै हिड्छन् । बेला बखत सानो स्वरमा प्राविधिक काउन्सिल हुनुपर्ने आवाज त उठ्छ तर कार्यान्वयन हुन सकेको छैन । भेटेरिनरी डाक्टरको लाइसेन्स परीक्षा हुने तर प्राविधिकहरूको नहुने, तर काम उस्तै भए डाक्टरले काउन्सिल पास गरेर उपचार गर्न पाउनुको के औचित्य ? यो भेटेरिनरी पेशा माथिको भद्दा मजाक र विभेदकारी नीति हो ।
छिमेकी देश भारतमा प्राविधिकको कार्यक्षेत्र विभाजन गरिएको हुन्छ, प्राविधिकले स्वास्थ्य परिक्षण, प्रजनन्, खसि बनाउने, प्राथमिक औषधि उपचार, भ्याक्सिन, बाझोपन निवारण आदि काम गर्न पाउने अधिकार छ ।
सह भेटेरिनरी प्राविधिक र भेटेरिनरी प्राविधिकहरूको कामप्रति सिटिइभिटी (CTEVT) को मार्गदर्शन
३० महिने प्राविधिक र १८ महिने सह-प्राविधिकलाई भेटेरिनरी आधारभुत शिक्षा मात्र प्रदान गरिन्छ, सिटिइभिटीको कोर्षमा प्राविधिक वा सह प्राविधिकलाई शल्यक्रियामा डाक्टरहरूसँग प्रत्यक्ष रूपमा काम गर्न, एनेस्थेसिया दिन, डाक्टरले लेखेका औषधि प्रयोग गर्न टाँकाहरू लगाउन, ब्यान्डेज लगाउन, प्रयोगशालाको लागि रगत, पिसाब, दूध संकलन गर्ने जस्ता काम गर्न पाउने प्रावधान उल्लेखित गरिएको छ भने कुनै प्रकारको शल्यक्रिया गर्ने, क्यान्सरको औषधि चलाउने, अल्ट्रासाउन्ड मेसिन चलाउने, कुखुरा बाहेक पोस्टमार्टम गर्ने, डाक्टरको प्रेसक्रिप्सन बिनाको औषधि चलाउने अधिकार दिइएको छैन ।
नेपालमा पशु चिकित्सक प्राविधिकहरूले गरेको कसुर
कतिपय सरकारी कार्यालयमा प्राविधिकहरू जटिल भन्दा जटिल शल्यक्रिया गर्न पछि पर्दैनन् । शल्यक्रियालाई आलुबाट कुहिएका भाग काटेर फालेको जस्तो ठान्छन् र गर्छन् कति ठाँउमा सियो धागोले घाउ सिलाइएको घटना पनि सुनिएको छ । शल्यक्रिया गर्नका लागि रक्तस्राव नियन्त्रण विधि, शारिरिक संरचना, फ्र्याक्चर प्रकारहरू, सविन (सुचर) प्रकारहरू, फिजियोलोजी, घाउ निको पार्ने प्रविधि, सिलाई (सुचर) प्रविधिहरुको विस्तृत ज्ञान हुनुपर्छ तर यो बारे कुनै आधारभुत ज्ञान पनि नभई शल्यक्रिया गर्नु पशुको जिवनसँग खेलिनु हो यसले समाजमा पशु चिकित्सकको नकारात्मक छविको विकास गर्छ ।
यसैगरी विभिन्न पशु कल्याणकारी संघसंस्थामा आवद्ध प्राविधिकहरूले "भिनकिर्सटिन" भनिने क्यान्सरमा प्रयोग हुने औषधि, बाटोको कुकुरहरूलाई पाठेघर क्यान्सर भएको बेलामा बिना कुनै सुरक्षा अपनाई प्रयोग गरिएको पाइएको छ । यो औषधि प्रयोग गर्दा विशेष सुरक्षा अपनाउनु पर्छ र बाटोमा प्रयोग गर्न हुँदैन तर कतिपय प्राविधिकहरूले ब्यस्त सहरमा बिना कुनै सुरक्षा उपकरण प्रयोग गरि नकारात्मक असरलाई ख्याल नगरी प्रयोग गर्ने गरेका छन् ।
यो औषधि निकै खतरनाक हुन्छ । यो औषधिको रेडियोधर्मी विकिरणहरू कुकुरको पिसाब र दिसामा ३ दिनसम्म रहन्छन् । यसले कुकुरको दिसा र पिसाबका सम्पर्कमा आएका अरु कुनै पनि कुकुरहरूलाई पनि क्यान्सर सर्ने सम्भावना हुन्छ । र यो विकिरणको सम्पर्कमा आएका मानिसहरुमा पनि बाँझोपन, रक्तअल्पता र अन्य विभिन्न रोग निम्त्याउन सक्छ । त्यसैले सरकारले यस सम्बन्धी कानुन बनाउन र प्राविधिकको कार्यक्षेत्र निर्धारण गर्न अति जरुरी छ ।
लेखक :अबिनाश ठाकुर
(लेखक नेपाल भेटेरिनरी विद्यार्थी संघका अध्यक्ष हुनुहुन्छ)