काठमाडौं, साउन ३१ । पछिल्लो समय मुलुकको निर्यात व्यापारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी १२ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८-०७९ मा कुल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४९.९% र ३०.४% ले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४% ले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा वर्षमा कुल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५%, १३.२% र ३६.३% ले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पन्ज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ ।
आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात-आयात अनुपात १०.४% पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२% रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब १३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ९० अर्ब ५४ करोड बराबरको भएको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय तीन सय ४६ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय सात अर्ब २७ करोड रहेको थियो ।
समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय ९६ दशमलव सात प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोेड रहेको थियो ।