Kath khabar
बिक्रम, सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर



             काठमाडौं, भदौ १ । लामो समयदेखि बेलायतमा बस्दै आइ रहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो-विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरीय विकासको, स्तरोन्नतिका साथै अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउँदै हुनुहुन्छ,, भदौ १० गते मल्टिस्टारर फिल्म -‘दि सिक्रेट्स अफ राधा’ लिएर ।

यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्ममार्फत अभिनेताकारुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिनुभएका बिक्की यसपालि भने निर्माताका रुपमा मात्रै प्रस्तुत हुनुभएको छ ‘राधा’ मा । सुवर्ण थापा निर्देशित ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गर्नुभएको छ । नारी शक्तिको विषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी रहनुभएको छ । ‘हामीले निकै मिहिनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उहाँ भन्नुहुन्छ । ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्को स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपालि पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागिरहेको उहाँ बताउनुहुन्छ । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौँमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुनुहुन्छ ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा विश्वस्त रहनुभएको छ । महारानी इन्टरटेनमेन्ट युके, बिरञ्जना इन्टरटेन्मेन्ट्स, आदि योगी भिजन, मण्डला अनलाइन र एमी फिल्मसको संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकिँदै जादा प्रचारप्रचारमा तीव्रता दिइरहेको छ । फिल्म दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दावी निर्माण पक्षको छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update