काठमाडौं, भदौ १। नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पुन शून्य दशमलव ३६ अंकले घटेर दुई हजार ४० दशमलव ७० अंकमा सीमित हुन पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव २८ अंकले बढेर तीन सय ९४ दशमलव ६७ अंकमा पुग्न सफल भएको छ ।
आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको २६ हजार एक सय ९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा वाणिज्य बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लगानी सहितका छ वटा समुहहरूको सूचक घटेर रातो देखिएका छन् भने विकास बैंक, निर्जीवन बीमा, जलविद्युत, फाइनान्स, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष सहितका सात वटा समुहहरूको सूचक बढेर हरियो देखिएका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये स्वेत गंगा हाइड्रो पावर कम्पनी, मन्दाकिनी हाइड्रो पावर कम्पनी, अपरहेवा खोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सामलिङ पावर लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि परेका छन् ।