काठमाडौं, भदौ ५ । दशैँको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । नेपालीहरूको महानपर्व दशैँ तथा तिहार नजिकिएको बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ ।
यस्तो छ विज्ञप्ति :
मिति : २०७९।०५।०४
प्रेस विज्ञप्ति
नेपाल-चीनसँग निकै लामो समयदेखि द्विदेशीय व्यापार हुँदै आएको छ । नेपालको प्रमुख छिमेकी चीन सरकार र नेपाल सरकारबीच कूटनीतिक तवरबाट व्यापार व्यवसायमा सहजीकरण हुने गरेको हामी सबैमा सर्वविदितै छ । प्राचीनकालदेखि नै नेपाल र चीनबीच दौत्य सम्बन्ध रहेको र १९१२ सालमा जंगबहादुर राणाका पालामा भएको सन्धिपछि चीन-नेपाल सम्बन्ध जनस्तरमा समेत फैलिएको इतिहास छ । विभिन्न समयमा भएका विभिन्न सन्धि सम्झौता पछि नेपाल र चीन बीचको व्यापार अझ धेरै सहज भएका उदाहरणहरू छन् । नेपाल र चीनबीच ऐतिहासिक पारवाहन सन्धि सम्झौता समेत भइसकेको छ । २६ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका दुई देशबीचको सम्झौतामा पनि व्यापारको विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । दुई देशबीच लामो समदेखि सौहार्द्रपूर्ण व्यापारिक सम्बन्ध रहेकोमा केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरू देखिएका छन् । यतिबेला आयातित सामाग्रीहरू चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण भएको छ ।
चाडपर्व लक्षित सामानहरू चिनिँया नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइ नपुग्दा सम्पूर्ण व्यवसायीहरू धराशायी हुने खतरा बढेको छ । विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरूले निकै समस्या खेपिरहेका छन् । विविध समस्याका बावजुद चाडपर्व लक्षित सामाग्रीहरू अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुखद कुरा हो । सीमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगीव्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ । यसर्थ, नाकामा देखिएका समस्याहरू समाधान गर्नका लागि आवश्यक कूटनीतिक पहल गरी यथाशीघ्र यी समस्याहरू समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरूसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ ।
कुमार कार्की
अध्यक्ष
नेपाल राष्ट्रिय व्यवसायीमहासंघ