Kath khabar
आँचलदेखि मिस नेपाल नम्रतासम्म एउटै र्‍याम्पमा



            काठमाडौं, भदौ ६। दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्दा होटल नै धपक्क बलेको देखिन्थ्यो ।

झिलिमिली सजावट सहित आयोजना भएको फेसन शोमा सात भारतीय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन् । आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भव्य र व्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्‍याम्प देखिँदा दर्शक मोहित भएका थिए ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस वर्ष झनै सभ्य, भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो । सेलिब्रेटी, भिआइपी, व्यवसायी लगायत बिभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको फेसन सोको कोरियाग्राफी अभिमन्यु सिंह तमोरको रहेको थियो ।

फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिनुभयो ।


 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update