काठमाडौं,जेठ १३ । सरकारले अध्यादेश मार्फत नयाँ बजेट सार्वजनिक गर्न २ दिन बाँकी रहँदा जम्मा ५८ प्रतिशत मात्रै रकम खर्च भएको छ । अझ विकासका लागि छुट्टाएको रकममध्ये त जम्मा ३७ दशमलव तीन एक प्रतिशत मात्रै खर्च भएको छ ।
यो बजेट सरकारले असारमसान्तसम्म खर्च गर्न सक्छ । अर्थात् सरकारले बजेट खर्च गर्नका लागि ४७ दिन बाँकी छन् । तर नयाँ बजेट सार्वजनिक गर्दैगर्दा पुरानो बजेट के कति कार्यान्वयनम आयो भनेर हेर्न जरुरी हुन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म सरकारले अहिलेसम्म १ खर्ब ३१ अर्ब मात्रै विकास खर्च गरेको छ । जुन विनियोजित बजेटको ३७ दशमलव तीन एक प्रतिशत हो । सरकारले यो वर्षको लागि ३ खर्ब ५२ अर्ब रकम विकासका लागि रकम छुट्टाएको थियो ।
त्यस्तै कर्मचारीको तलब भत्तामा सरकारले ९ खर्ब ४८ अर्ब छुट्टाएको थियो । जसमध्ये अलिहेसम्म ६ खर्ब ५४ अर्ब रकम मात्रै खर्च भएको छ । जुन चाँहि विनियोजित बजेटको ६८ दशमलव नौ पाँच प्रतिशत हो ।
सरकारले विकास निर्माणका काम समयमै अघि बढाउन सकेको छैन । उपत्यकाका केहि पुनर्निमाणका काम देखि बाहेक अन्य काम अघि बढ्न सकेको छैन । जसका कारण विकास निर्माणका लागि छुट्टाएको रकम खर्च हुन नसकेको हो ।
राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति सुस्त छ । यसै त विकास निर्माणका काम द्रुत रुपमा अघि बढाउन नसक्ने सरकारले अहिले कोरोना महामारीको निहुँ पाएको छ । त्यसमाथि राजनीतिक खिचातानीले पनि सरकारको काममा त प्रभाव परेको स्पष्ट देख्न सकिन्छ ।
केन्द्र तह देखि प्रदेश स्तरका मन्त्री तथा सरकार प्रमुखहरु केन्द्रमा सत्ता जोगाउने खेलमा ब्यस्त छन् । जसका कारण उनिहरुले विकास निर्माण र कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सकेका छैनन् ।
तर सरकारलाई जनताले तिर्ने कर भने निरन्तर रुपमा उठिरहेको छ । सरकारले अहिलेसम्म ७६ प्रतिशत राजस्व प्राप्त गरिसकेको छ । यो वर्ष १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य लिएकामा सरकारले अहिलेसम्म ७ खर्ब ७३ अर्ब बराबरको रकम उठाइसकेको छ ।
अध्यादेश मार्फत सरकारले अहिले प्रचारमुखि कार्यक्रम ल्याउने संभावना छ । हुन त यसअघि आएका प्रचारमुखि कार्यक्रम अलपत्र नै छन् । जसका कारण बजेटमा घोषणा हुँदैमा जनताले सहजै पत्याउने स्थिती भने छैन ।
प्रमाणपत्र धितो राखेर ऋण लिने होस् वा त श्रमिकको सामाजिक सुरक्षा योजना दुबै अलपत्र परेका छन् । जसले सरकारको असफलता छर्लङ्ग पार्छन् । यसमाथि सरकारले विकास निर्माणमा खर्चन बाँकी रहेको रकमले पनि थप प्रष्ट पार्छ ।