Kath khabar
निषेधाज्ञा कडाई गर्ने अवस्थामा उपत्यकामा कस्तो छ आपूर्ति प्रणाली ? 

काठमाडौं, जेठ १३ । कोरोना संक्रमणलाई फैलन नदिने भन्दै उपत्यकामा अत्यावश्यक बाहेक अन्य सेवा सञ्चालनमा थप कडाई गरिने भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले खाद्यन्न, तरकारी पसल समेत बन्द तथा मालवाहक सवारी साधन आवगमनमा समेत कडाई गर्न लागेको हो । उपत्यकाको जारी निषेधाज्ञा १३ गते राती १२ बजेबाट सकिदै छ भने नयाँ आदेश भने जेठ १४ गते बिहान १ बजेबाट लागू हुँदै छ।

निषेधाज्ञा थप कडाई गर्दा खाद्यन्न, दलहन, गेडागुडी, नून, चिनी, दुध, तेल, तरकारी तथा मासुजन्य पदार्थ मौज्दात तथा निरन्तर आयात भइरहेको उद्योग, वाणिज्यत तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १४ हजार ६५ मेट्रिक टन् चामल मौज्दात रहेको तथा पाँच हजार मेट्रिक टन् चामल खरिद प्रक्रियामा रहेको बताइएको छ । यस्तै खाद्यसँग १२ हजार ६ सय ६ क्विन्टल गहुँ रहेको छ ।

यस्तै साल्ट् ट्रेडिङ कर्पोरेशन लिमिटेड सँग एक लाख ४६ हजार ४ सय ३२ मेट्रिक टन् तथा दुर्गममा दुई हजार छ सय ९७ मेट्रिक टन्  आयोडिनयुक्त नून मौज्दात रहेको जनाएको छ ।

यस्तै लिमिटेडसँग ५० हजार नौ सय १० मेट्रिक टन् चिनी मौज्दात रहेको छ । निजी क्षेत्रसँग करिब ५० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । मन्त्रालयका वाणिज्य सचिव दिनेश भट्टराईले दैनिक उपभोग्य सामग्री मौज्दात हुुनुको साथै उपत्यकाको हकमा थानकोट नाका हुँदै आयात समेत दैनिक भइरहेको जानकारी गराउनु भएको छ । 

मन्त्रालयले ४८ हजार पाँच सय ३७ मेट्रिक टन खाद्यन्न, पाँच हजार तीन सय मेट्रिक टन दलहन/गेडागुडी, छ हजार आठ सय मेट्रिक टन तरकारी, पाँच हजार चार मेट्रिक टन फलफुल, ५३ मेट्कि टन् दुग्धजन्य पदार्थ आयात भएको जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार दैनिक उपभोग्य सामग्रीहरुको सुगम तथा दुर्गम जिल्लाहरुमा बिक्री वितरण समेत सहज भइरहेको बताइएको छ । मन्त्रालयका अनुसार सुगम जिल्लाहरुमा ८० हजार क्विन्टल तथा दुर्गम जिल्लाहरुमा ९४ हजार क्विन्टल खाद्यन्न बिक्रीवितरण भइरहेको छ । 

उपत्याकाको हकमा जेठ पहिलो साता धानका नौ ओटा, मैकका २२ ओटा, चामलमा एक सय ५४ वटा, गहुँ १०, मैदाका ८६ ओटा, चिनीका ६४ वटा, नूनका २५ ओटा, दालका ९२ ओटा, अण्डाका एक सय ३८ ओटा, फलफूलका एक सय एक ओटा, दुधका एक सय २१ ओटा, घ्यूतेलका  ८८ ओटा, तरकारीका दुई सय ५८ ओटा ट्रकहरु थानकोट नाका हुँदै उपत्यका प्रवेश गरेका छन् ।

यस्तै मासुजन्य पदार्थको हकमा कुखुराका एक सय ९१ ओटा, राँगाका ३४ ओटा, खसीका २३ ओटा तथा औषधीका ६३ ओटा र अक्सिजनका १६ वटा ट्रकहरु थानकोटा नाका हुँदै उपत्यका प्रवेश गरेका छन् । 

यसरी मौज्दात र दैनिक आयात हुनाले गर्दा उपत्यकामा खाद्य, तरकारी, मासु लगायतका दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति प्रणाली सहज रहेको मन्त्रालयको भनाई रहेको छ । मन्त्रालयले निषेधाज्ञामा उपत्याका बासीलाई सवारी साधनमार्फत् दैनिक उपभोग्य सामग्री घरसम्म पुराउने घरदैलो कार्यक्रमलाई भने प्रभावकारी बनाउदै लगेको छ । 

थप कडाई गर्दै जारी गरेको निषेधाज्ञामा काठमाडौंको हकमा भने दैनिक चाहिने चामल, दाल लगायत खाद्यवस्तु दुई दिनभित्र जोहो गर्न स्थानीयलाई आग्रह गरिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा खाद्यन्न पसल बन्द गरिने हुदाँ एक साताका लागि चाहिने खाद्य सामग्री दुई दिन भित्र जोहो गर्न स्थानीयलाई आग्रह गर्नु भएको हो।  


 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update